बागलुङ, जेठ १४ गते । बागलुङमा थप ६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । नेपालको पाँचौ र छैठौ संक्रति भेटिएको बागलुङमा पछिल्लो पटक थप ६ जनामा संक्रमण पुष्टी भएको हो । पोखरा स्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङको तमानखोला गाउँपालिकाका चार जना र बडिगाढ गाउँपालिकाका दुई जनामा संक्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार संक्रमण पुष्टी भएका बडिगाढ गाउँपालिकाका १९, २० वर्षका पुरुष र तमानखोलाका २१, २१, २७ र २७ वर्षका पुरुष रहेका छन् । संक्रमित सबै भारतमा रेल सेवा सञ्चालनमा आएपछि भारतका विभिन्न शहरबाट नेपाल भारत सिमा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए । सुनौलीबाट प्रदेश नं. पाँचको गुल्मी र बागलुङको सिमा खर्वाङ हुँदै जिल्ला प्रवेश गरेका सबै क्वारेन्टाइनमा बसेका थिए ।
संक्रमित मध्य चार जना तमानखोला गाउँपालिकाको धनगौज्योती माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन र दुई जना बडिगाढ गाउँपालिकाको त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका थिए ।
तमाखोलामा ८ जनाको समूह भारतबाट आएको र ति मध्य चार जनामा संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो । यस्तै बडिगाढमा पनि आठ जनाको समूह भारतबाट आएको र ति मध्य दुई जनामा संक्रमण देखिएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिनुभयो ।
संक्रमित छ जनालाई नै बागलुङ जिल्ला सदरमुकामको धौलागिरि अस्पतालको आइसुलेसनमा ल्याउँने तयारी गरिएको स्थानीय तहहरुले जनाएका छन् । बागलुङमा यस अगाडि संक्रमित भएका दुई जना निको भएर घर फिर्ता भइसकेका छन् ।