बागलुङ, जेठ ३१ गते । भारतले कब्जामा राखेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नयाँ नक्सा र निशान छाप समावेश गरी प्रतिनिधिसभामा पेश गरिएको संविधान संशोधन विधेयक सर्वसम्मतीले पारित भएको छ । नेपाली भूमी भएपनि भारतीय कब्जामा रहेको भूमी फिर्ताको प्रक्रिया अगाडि बढाएपनि देशको निसान छापमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नभएको नेपालको नक्सा रहेकाले त्यसलाई परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव अगाडि सारिएको थियो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उक्त प्रस्तावप्रति समर्थन जनाएका थिए । प्रतिनिधिसभामा कुल २७५ जना सांसद मध्य २५८ जनाले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । विपक्षमा कसैको मत परेको थिएन ।
सरकारले ल्याएको संविधान संशोधनको विपक्षीमा आवाज उठाउँदै आएकी जनता समाजवादी पार्टीका सांसद सरिता गिरीले संसदमा बोल्न खोज्दा सभामुख अग्नी सापकोटाले उनको प्रस्ताव खारेज गरेको जानकारी गराएपछि संसद भवनबाट बाहिरिएकी थिएन । उनी बाहेक सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल, नेपाली काँग्रेसका नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल, जनता समाजवादी पार्टीका अमृतादेवी अग्रहरी, प्रमोद शाह, दुलारीदेवी खत्वेनी र सूर्यनारायण यादव मतदानमा अनुपस्थित रहेका थिए ।
२७५ सांसद मध्य नेपाली काँग्रेसका विजयकुमार गच्छेदार र मोहम्मद अफ्ताव आलम तथा जनता समाजवादी पार्टीका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा रहेकाले मतदान गर्न पाउँदैनन । सभामुखले पक्ष विपक्षमा मतदान गर्न नपाउँने भएकाले २५८ जनाले मात्र मतदान गरेका थिए ।
संसदमा उपस्थित सबै सांसदहरुको समर्थनमा पारित भएको संविधान संशोधनको प्रस्ताव देशका लागि ऐतिहासिक भएको भन्दै देशका विभिन्न भागमा दीपावली समेत गरिएको छ ।
बागलुङ बजारमा बागलुङ नगरपालिकाको समन्वयमा गरिएको दीपावली गरिएको थियो । उक्त दीवालीमा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, गण्डकी प्रदेशसभा सदस्य, इन्द्रलाल सापकोटा, जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गाना, बागलुङ नगरपालिकाका नगरप्रमुख जकराज पौडेल लगायतले दीप प्रज्वलन गर्नुभएको थियो । दीप प्रज्वलन अगाडि बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेपाली भूमी भएपनि भारतीय कब्जामा रहेको उक्त भुमी फिर्ताको प्रक्रियामा सरकारले सक्रियता देखाएकाले सोही खुसीयालीमा दीपावली गरिएको बताउनुभयो ।