बागलुङ, जेठ ३२ ते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङका पहिरो पीडितका लागि राहत, पुनःस्थपना र वस्ती स्थानान्तरणका लागि ध्यान दिन तीन तहका सरकारलाई आग्रह गर्नुभएको छ । शनिबार रातीको पहिरोका कारण आठ जनाको मृत्यु र एक जना वेपत्ता भएपछि काठमाडौंबाट घटनास्थल आइपुग्नुभएका तिमिल्सीनाले पहिरोका कारण घरमा क्षती, वरपरको बस्ती जोखिममा परेका कारण स्थानान्तरण र संरक्षणमा ध्यान दिन आग्रह गर्नुभएको हो ।
पहिरोका कारण वेपत्ता भएका एकजनाको खोजी भइरहेका बेला गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, संघीय सांसद पदम गिरी सहित घटनास्थल पुग्नुभएका तिमिल्सीनाले मृतकको परिवारलाई भेटेर सान्त्वना व्यक्त गर्नुभएको थियो । तिमिल्सीनाले रातीको समयमापनि वेपत्ताको खोजीमा सक्रिय पर्वत जिल्ला प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
शनिबार राती अविरल वर्षासँगै आएको पहिरोले दुर्लङको काफलचौर काउलेका दुई घर पुरेको थियो । करिब एक किलोमिटर माथिबाट खसेको पहिरोमा पुरिएका दुई घरका नौं जना मध्य आठ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शनिबार रातीदेखि आइतबार साँझसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सक्रियतामा पहिरोमा पुरिएका तुलबहादुर थापा, उनकी श्रीमती मिनकुमारी थापा, विवाहित छोरी डिरपा थापा, नातिहरु विवेक थापा, सम्राट थापा र नातिनी विविशा थापा, कमला बिकको घरबाट बिक सहित छोरी प्रमिशा बिकको शव निकाल्न सफल तथा छोरा जेनिस बिकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक थापाका छोरा बुहारी घरभन्दा केही माथि व्यापार गरेर बस्ने गरेको र बिकका श्रीमान रोजगारीका लागि साउदी अरवमा रहेको कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो । मृतक डिरपा थापा र विवेक थापाको घर बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थापमा रहेको र उनी बन्दाबन्दीका बीच माइत आएको बेला पहिरोमा पुरिएको वडा अध्यक्ष पाध्याले जानकारी दिनुभयो ।
पहिरोका कारण ति दुई घर बाहेक भुवन गिरीको घरपनि पूर्ण रुपमा क्षती भएको, अन्य सात घर अति जोखिममा परेको र ३५ घर जोखिममा परेको वडा अध्यक्ष पाध्याले बताउनुभयो । पहिरोका कारण घरको एक भाग पूर्ण रुपमा नष्ट भएपनि शनिबार राती नै गिरीको उद्धार गरिएको र उहाँ सामान्य घाइते भएको वडा अध्यक्ष पाध्याले जानकारी दिनुभयो । स्थानीय सागर गिरीकाअनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको थियो । घरदेखि माथि ठुला ठूला बारी तथा समथर खरवारी रहेपनि पाहिरोले सबै बगाएको छ । ‘पहिरो नै बगाउँने जस्तो भुगोल छैन, पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूला ठूला बारी छन्, तलपनि बारी तथा समथर खरवारी छ तर ति सबै बगाएर लगेको छ ।’ गिरीले भन्नुभयो ।