बागलुङ, १२ असार । बागलुङ नगरपालिका–९ तित्याङका सिनियर अहेब नारायण प्रसाद पौडेल उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानबाट सम्मानित हुनुभएको छ ।
तित्याङ स्वास्थ्य कार्यालयमा स्थापना गरिएको विमला स्वास्थ्य स्मृती कोषबाट शुक्रबार सिअहेब पौडेललाई सम्मान गरिएको हो । २०७४ सालमा ब्रेन टुयुमरको कारण २५ बर्षको उमेरमा मृत्यु भएकी विमला खड्काको सम्झनामा उनका बुबा रुद्रबहादु खड्काले कोषको स्थापना गर्नुएको थियो ।
खड्काले स्वास्थ्यकर्मीहरुले सक्दो प्रयास गर्दागर्दौ आफुले सानै उमेरमा छोरीलाई गुमाउनु परेकोले स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई स्वस्थ्यतर्फमा काम गर्न हौसला प्रदान गर्ने उद्देश्यले कोषको स्थापना गरेको बताउनुभयो ।
खड्काले उक्त कोषबाट एक वर्ष महिला स्वयंसेविका र एक वर्ष स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले यस वर्ष तित्याङ स्वास्थ्य चौकीमा विगत २१ वर्षदेखि कार्यरत रहि तित्याङको जनतालाई पुराएको अतुलनिय योगदानको कदर सम्मान गरिएको बताउनुभयो ।
पुरस्कार वितरणपछि बोल्दै वडाअध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष गणेश थापाले सम्मानले स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा अझै लगनशिल भएर लाग्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुले २४ सै घण्टा घर, घरमा पुगेर स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउँदै उहाँहरु प्रति सम्मान प्रकट गर्नुभएको थियो । बिमलाका एक ८ बर्षिय छोरा छन् ।