लमजुङ । पहिराले अवरुद्ध बनाएको तीन दिनपछि बेँसीसहर–चामे सडक पुनः सञ्चालन भएको छ । बिहीबार बिहानदेखि अवरुद्ध भएको लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरको पहिरो तीन दिन लगाएर एक्साभेक्टरले हटाएसँगै आज साँझ ६ बजेदेखि सडक पुनः सञ्चालन भएको हो ।
करीब ५०÷६० मिटरमाथि बाट सडकमा पहिरो आउँदा यस सडकखण्डको ७० मिटर भाग अवरुद्ध भएको र यस पहिरो हटाएसँगै सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सबइन्जिनीयर सुमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पहिलो ठूलाठूला ढुङ्गा सहितको आएको र वर्षा भइरहेकाले पहिरो हटाउनलाई धेरै समय लागेको थियो । यस स्थानको पहिरो हटाएपछि मनाङका विभिन्न सवारीसाधनहरु लमजुङ र लमजुङबाट मनाङ आवतजावत हुन थालेका छन् ।”
सोही समयमा पुवाखोलामा ढलान गरिएको ढलान नै बाढीले भत्काएको थियो । सो स्थानमा केही मर्मत गरेर कुनाको भागबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएकाले सवारीसाधन सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । करिब ६५ किलोमिटरको यस सडक अवरुद्ध हुँदा मनाङवासीलाई प्रत्यक्ष रुपमा बढी मर्कामा परेका थिए । सो जिल्लामा विभिन्न सामग्री लैजानेदेखि मनाङवासी यस सडक हुँदै लमजुङ बेँसीसहर भएर विभिन्न जिल्ला आउने गर्दछन् । तीन दिनदेखि रोकिएर बसेका ढुवानीका सवारीदेखि यात्रुहरु सडक सञ्चालन भएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।