तनहुँ, भदौ ५ गते । तनहुँका स्थानीय तहले ३४ करोड रुपैयाँ बढी नियम विपरीत खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६र७७ मा यहाँका स्थानीय तहले ३४ करोड ४९ लाख १ हजार रुपैयाँ अनियमित गरेका हुन् । जिल्लाका १० स्थानीय तहको १२ अर्ब ३० करोड ३३ लाख ८७ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा बेरुजु रकम २।८० प्रतिशत देखिन्छ ।
२०७५र७६ मा महालेखाको प्रतिवेदनमा तनहुँका स्थानीय तहको बेरुजु ३८ करोड २२ लाख रुपैयाँ थियो । यसको तुलनामा पछिल्लो बर्ष ३ करोड ७२ लाख ८८ हजार रुपैयाँ बेरुजु घटेको हो । आर्थिक वर्ष २०७४र७५ मा स्थानीय तहको बेरुजु १५ करोड रुपैयाँ मात्रै थियो । त्यसपछिका बर्षमा बेरुजु रकम निरन्तर उकालो लागेको देखिन्छ ।
सबैभन्दा बढी जिल्लाको पहिलो नगरपालिका व्यासमा बेरुजुको चाङ छ । महालेखाको प्रतिवेदनमा १३ करोड ५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको छ । व्यासको २ अर्ब ६४ करोड ३ लाख ८७ हजार रुपैयाँ लेखा परीक्षण गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाको १ अर्ब ८० करोड ५० लाख ६ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ७ करोड १३ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ । भानु नगरपालिकाको बेरुजु ७६ लाख ८८ हजार रुपैयाँ मात्रै देखिन्छ । भानुको १ अर्ब ५७ करोड ९७ लाख रुपैयाँको लेखापरीक्षण गरिएको हो ।
भिमादको १ अर्ब १३ करोड ६१ लाख ४६ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ७५ लाख ९५ हजार रुपैयाँ मात्र बेरुजु देखिन्छ । जिल्लाका ४ नगरपालिका मध्य सबैभन्दा कम बेरुजु भिमादमा पाइएको छ । भिमाद कान्छो नगरपालिका हो ।
गाउँपालिकातर्फ ऋषिङमा धेरै बेरुजु देखिन्छ । ९९ करोड ५ लाख ६७ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा ४ करोड ३४ लाख ७९ हजार रुपैयाँ अनियमित खर्च गरेको पाइएको छ । बन्दीपुरको बेरुजु २ करोड २१ लाख २७ हजार रुपैयाँ छ । ८५ करोड १३ लाख ४४ हजार रुपैयाँको लेखापरिक्षण गरिएको थियो । घिरिङको ७१ करोड ८५ लाख ३८ हजार रुपैयाँ लेखा परीक्षण हुँदा करोड ८० लाख ८ हजार रुपैयाँ नियमविपरीत खर्च गरेको महालेखाले औंल्याएको छ । आँबुखैरेनीको ९५ करोड ४६ लाख ४७ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा २ करोड ४७ लाख ३६ हजार रुपैयाँ बेरुजु देखिन्छ । देवघाटको बेरुजु ५५ लाख ९८ हजार रुपैयाँ रहेको छ । ७७ करोड ५५ लाख ९० हजार रुपैयाँ महालेखाको कार्यालयले लेखा परिक्षण गरेको थियो ।
जिल्लाको म्याग्दे गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिन्छ । महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार म्याग्देमा ३८ लाख १७ हजार रुपैयाँ नियम विपरीत खर्च गर्दा बेरुजु हुन आएको छ । ८५ करोड १४ लाख ६२ हजार रुपैयाँ लेखा परीक्षण भएको थियो ।
महालेखाको प्रतिवेदनमा तनहुँका स्थानीय तहले उपभोक्ता समितिमार्फत विक्री भएको वन पैदावरको १० प्रतिशत शुल्क नलिएको, अनुमति बेगर सार्वजनिक जग्गाबाट उत्खनन् गरिएको सामग्रीको राजस्व र जरिवाना असुल गर्न नसकेको, संघीय सरकारको मातहतमा पर्ने योजनामा क्षेत्राधिकार मिचेर गरेको खर्च उपलब्धिविहीन भएको लगायतका कमजोरी तनहुँका स्थानीयको तहको नाम नै उल्लेख गरेर औँल्याइएको छ । न्युज कारखाना










