सिन्धुली, २६ कात्तिक । हरिहरपुरगढीस्थित कौवाडाँडाका युवाहरूले देउसीभैलो खेलेर जम्मा गरेकाे पैसाले जेनेरेटर खरिद गरेका छन् । नेपाल विद्युत प्रधिकरको ‘उज्यालो नेपाल अभियान’ले आफ्नाे गाउँलाई नछोएपछि स्थानीय युवाहरू गाउँमा बत्ती बाल्ने उदेश्यले जेनेरेटर खरिद गरेका हुन् ।
स्थानीय युवा कमान सिंङ बम्जनका अनुसार देउसीभैलो कार्यक्रमबाट करिब ६० हजार रुपैया संकलन भएको छ । उक्त रकममा गाउँका युवाहरूको तर्फबाट केही थप गरेर जेनेरेटर र स्पीकर खरिद गरिएको हाे । ५६ घरधुरी रहेकाे कौँवा डाँडाका स्थानीय अझै पटि टुकीको भरमा छन् ।
गाउँमा जेनेरेटर आएपछि अब विभिन्न सामुहिक कार्य, विवाह, व्रतवन्ध, मेला जस्ता कार्य गर्दा बत्ती बाल्न पाईने भएपछि स्थानीय खुसी भएका छन् । कौँवा डाँडामा बर्षेनी कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीमा मेला लाग्दै आएको छ ।
पुर्व पश्चिम लोकमार्गबाट आधा घण्टाकोे पैँदल दुरीमा रहेको कौँवागाउँको सिमाना सर्लाहीसँग जोडिएको छ । कौँवा डाँडामा गाउँपालिकाको लगानीमा ६ महिनाअघि पोल गाड्ने र तार टाग्ने काम भए पनि बिजुली बत्ती भने बलेकाे छैन् ।
गाउँपालिकाले भने गत बैशाखमै बिजुली बाल्ने उद्देश्यसहित काम गरे पनि कोरोना र बर्षातले ढिला भएको गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले जानकारी दिए । ‘कोरोना र बर्षातका कारण ठेकेदार कम्पनीले काम गर्न सकेन ।’ उनले भने, ‘अब तत्काल काम गर्न अनुरोध गरेका छौ ।’