काठमाडौं । यस वर्ष तिहारका लागि करिब ६० करोडको झिलिमिली बत्ती आयात भएको छ । विद्युतीय व्यवसायीले मात्र ४५ करोडको झिलिमिली बत्ती आयात गरेका छन् भने खुद्रा व्यापारीका तर्फबाट १५ करोडको आयात भएको नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमकुमार देवकोटाकाले जानकारी दिनुभयो ।
नेपालमै उत्पादन नहुने भएपछि ९० प्रतिशत झिलिमिली चीनबाट आयात भएको छ । बाँकी १० प्रतिशत भारतबाट भित्र्याइएको छ ।
तिहार सुरु भएलगत्तै यस्ता बत्तीको माग बढ्दै जान्छ । बिजुली पसलदेखि विभिन्न खुद्रा पसलमा समेत सिजनल व्यापारका रुपमा यो बत्ती बेच्ने गरिन्छ ।
देवकोटाले भन्नुभयो, “तिहार सुरु हुनै लाग्दा झिलिपिली बत्तीको माग बढ्दै गएको छ । अरु बेसिजनल समय र बिहेको समयमा थोरै–थोरै मात्र माग हुन्छ ।”
बाहिरबाट नेपाल भित्र्याइएको कुल ६० करोड झिलिमिली बत्तीमध्ये करिब १५ प्रतिशत उपत्यकामै खपत हुने अध्यक्ष देवकोटाको भनाइ छ । बाँकी बत्ती देशका अन्य क्षेत्रमा खपत हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाहिरबाट आयात भएको ६० करोडको झिलिमिली बत्तीमध्ये १५ प्रतिशत काठमाडौंमा खपत हुन्छ । अन्य बाँकी क्षेत्रमा खपत हुने गरेको छ ।”