बागलुङ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रर्वद्धनमा नीजि क्षेत्रले लगानी गर्न तयार रहेको बताउनु भएको छ । त्यसका लागि सरकारले लगानीको सुरक्षा गरिदिनुपर्ने धारणा राखुभएको हो ।
बागलुङ कालीका भगवति गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशै मेलाको मंगलबार उद्घाटन गर्दै ढकालले युवा रोजगारी बढाउने पर्यटक भित्राउने र लगानी बढाउने काममा महासंघ र उद्योगीले राज्यलाई साथ दिने बताउनुभयो।
उहाँले बागलुङकै भकुण्डे र भैरवस्थानलाई पनि केवलकारले जोड्न सकेमा बागलुङको पर्यटन प्रवद्र्धन हुने बताउनुभएको हो । ‘अब कालीका मन्दिर आएका पर्यटक, पञ्चकोट, भकुण्डे र भैरवस्थान जानुपर्छ’ ढकालले भने, ‘त्यसका लागि हामीले प्याकेज दिन सक्नुपर्छ ।’ राज्यले वातावरण बनाएमा नीजि क्षेत्र लगानी गर्न तयार रहेको पनि उहाँको भनाई छ
कार्यक्रममा गण्डकी प्रदेशकी कानून समितिकी सदस्य चम्पादेवी खड्काले बागलुङ कालीकाको महत्वलाई चैतेदशैमा आएका पर्यटकबाट तुलना गर्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले पनि शुभकामना दिनुभएको हो ।
समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, उपाध्यक्ष निसान खड्काको संचालन र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको स्वागतमा कार्यक्रममा सम्पन्न भएको हो ।