बागलुङ ।अन्तर पार्टी महिला सञ्जाल बागलुङले दिलिसा भण्डारी (दिक्षा) को रहस्यमयी मृत्युको घटनाप्रति प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सञ्जालले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन ध्यानाकर्षण पत्र बुझाउदै घटना कसरी घट्यो, घटना घट्नुको कारण के हो लगायतका विभिन्न विषयहरुमा सत्य तथ्य छानविन गरी दोषी उपर कारवाहीको माग गरेको हो । नेपालको प्रचलित कानुन, ऐन बमोजिम कडा भन्दा कडा कारवाहीको भाग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सम्वन्धीत निकायको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौं ध्यानाकर्षण पत्रमा उल्लेख छ।
उक्त घटनापश्चात जिल्लामा देखिएका विभिन्न परिघटनाहरुले रहस्यमय मृत्युको घटना थप पेचिलो बनिरहेको भन्दै यथासिघ्र घटनाको छानविन गरी दोषीलाई कानुन बमोजिम कारवाहीको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउँनका लागि अन्तर पार्टी महिला सञ्जाल वागलुङले माग गरेको छ ।
नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत दफा १६ को ९१० मा उल्लेख भए बमोजिम प्रत्यक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने र दफा १८ बमोजिम समानताको हक लगायतका संवैधानिक हक अधिकार रहँदा रहँदैपनि मुलुकमा स्थापित पितृसत्तात्मक सोंच र व्यवहारले आजपनि महिला दिदी बहिनीहरु विभिन्न कारणले अपहेलित हुने, बलात्कृत हुने, निर्दोष रुपमा ज्यान गुमाउँनु परिरहेको अवस्था रहेको सञ्जालको ठहर छ ।
जिल्लामा यसपूर्व भएका रुपा गौतम हत्या काण्डदेखि दर्जनौ महिलासँग प्रत्यक्ष जोडिएका घटनाहरुको वास्तविक अनुसन्धान प्रतिवेदन सार्वजनिक नहुँदा र दोषी माथि कारवाही नहुँदा कतै दिलिसाको घटना यस्तै हुने त होइन, अझैपनि महिलालाई न्याय दिन डगमगाई रहेको वा पूर्वाग्रही भएको त होइन भन्ने आशंका उब्जिएको जनाइएको छ ।
ध्यानाकर्षण पत्र सञ्जालका अध्यक्ष सीता सापकोटा र सचिव हुमा देवी खड्काले बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलाई बुझाउनु भएको थियो ।