बागलुङ । भ्रष्टाचार निवारणका लागि सबैको सक्रियता, चासो र चिन्तन हुनुपर्नेमा सरोकारवालाले बताएका छन् । राज्य संयन्त्रबाट शुरु गरेमा भ्रष्टाचार न्युनिकरण गर्न सकिने पनि उनीहरुको धारणा थियो । राजनीतिक नेतृत्व र राज्य संचालकबाट सुशासनका सूचक पालना गर्न सकेमा तल्लो इकाईसम्म भ्रष्टाचारका घटना घटेर जाने उनीहरुको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सुशासन भनेको भ्रष्टाचाररहित प्रशासन मात्र नभई आम नागरिकले महसुस गर्ने सेवा प्रवाह पनि भएको बताए । उनले सबैको चाहना र तत्परता भएमा न्युनिकरण गर्न सकिने समेत बताए ।
कार्यक्रममा मानव अधिकार संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसीले सुशासन भन्ने कुरा मुहान सफा भए कुलो सफा हुने विषय भएको बताइन् । उनले त्यसका लागि राजनीतिक दल, प्रधानमन्त्री मन्त्री र उच्च प्रशासनबाटै शुरु हुनुपर्ने बताइन् । उनले नीतिगत रुपमा हुने भ्रष्टाचारका घटनाले देशको अवस्था बिकराल बनेको बताइन् ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले भ्रष्टाचार नियन्त्रणको लागि गरिनुपर्ने काम बारे प्रस्तुतीकरण गरेका थिए । उनले कौटिल्यको समयदेखि भ्रष्टाचार हुने गरेको भन्दै सानो प्रकारको भ्रष्टाचार बढेर अहिले भयाबह बनेको बताए । उनले निमिठ्यान्न हुने गरी भ्रष्टाचार नियन्त्रण गर्न नसकिने भन्दै न्युनिकरण गरेर सुशासनको सुगन्ध फैलाउनुपर्नेमा जोड दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले अख्तियार दुरुपयोगको रुपमा हुने सबैखाले क्रियाकलाप नियन्त्रण गर्न प्रशासन सक्रिय रहेको बताए । उनले प्रशासनले सम्पादन गरेका काम तथा अख्तियारको प्रतिनिधिको रुपमा गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । बिशेषगरी सार्वजनिक जमिन मिचेको, सार्वजनिक स्थानको रुख काटेको, सहकारी अनियमितता, सरकारी नियुक्ती गर्दा नियम मिचेको तथा दोहोरो नागरिकता लिएको बिषयमा आएको उजुरी उपर काम भएको पनि जानकारी दिए ।
उक्त अवसरमा अधिवक्ता हरिकृष्ण सुवेदीले भ्रष्टाचार सम्बन्धी ऐन र भ्रष्टाचारको विषयमा कानूनी उपचारको विषयमा प्रस्तुतीकरण गरेका थिए । पत्रकार प्रकाश बरालले भ्रष्टाचार नियन्त्रणमा संचार संस्थाको भूमिका विषयमा प्रस्तुती गरेका थिए ।
भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाको आयोजना, बागलुङ नगरपालिका, जिल्ला प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको सहयोगमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रामबहादुर केसीको स्वागत र पत्रकार तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।