बागलुङ । बागलुङ कालीका गुठी व्यवस्थापन समितिले जेठ महिनामा कालीका गुठीको आयव्याय सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त खर्च सार्वजनिक गरेको हो ।
जेठ महिनामा भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख, ९६ हजार २ सय ६५ रुपैयाँ भएको जनाइएको छ । चामल बिक्रीबाट ९ हजार, बोकाको टाउकोबाट ११ हजार ९ सय, कुखराबाट ९ सय र राँगोबाट ३ हजार संकलन भएको थियो । सटर भाडाबाट ३ लाख ६ हजार ४ सय र आर्थिक सहयोगबाट ५६ हजार उपलब्ध भएको हो । त्यसबाहेक परेवा बिक्रीबाट २ लाख ४० हजार गरी १८ लाख २६ हजार ६ सय ९८ रुपैयाँ संकलन भएको बताइएको हो ।
खर्चतर्फ कर्मचारीको तलबमा ४ लाख ३४ हजार, बिद्युतमा २९ हजार, अतिथि सत्कारमा ४६ हजार, उपहारमा ९ हजार, पूर्वाधारतर्फ २ लाख ३६ हजार र जग्गा व्यवस्थापनमा १ लाख ५० हजार गरी खर्चतर्फ १० लाख २१ हजार खर्च भएको हो । जेठमा गुठीले ८ लाख ५ हजार बचत गरेको जनाएको छ ।
त्यसबाहेक गुठीले कालीका मन्दिर दर्शन गर्न आउने भक्तजनलाई बस्नको लागि बानपा १ को मालढुंगादेखि माथील्लो भागमा धर्मशाला बनाउने भएको छ । त्यसका लागि डिपिआर तयार गर्ने निर्णय गरेको बताइएको छ ।