बागलुङ । उपभोक्ता अधिकारको रक्षाका लागि सेवा प्रदायकलाई जिम्मेबार बनाउन बागलुङमा बजार अनुगमनको वार्षिक कार्ययोजना तयार हुने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोरकारवालाले कार्ययोजना बनाएरै बजार अनुगमन गर्नेछन् ।
बजार अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउने, बजारमा वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर, शुद्धता र परिमाण लगायतका क्षेत्रमा उपभोक्ता ठगिन नदिने तथा व्यवसायको प्रवर्द्धनमा समेत सघाउने गरी कर्ययोजना बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताए । उपभोक्ताबाट बजार अनुगमन प्रभावकारी नहुँदा पटक पटक ठगिने गरेको गुनासो आएकाले प्रशासनले सक्रियता देखाएको हो ।
प्रशासन, स्थानीय तह, उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, पर्यटन, स्वास्थ्य कार्यालय र उद्योग वाणिज्य संघको सहभागितामा कार्ययोजना तयार हुने सुवेदीले बताए । तयार पारिएको कार्ययोजना कार्यान्वयनका लागि आवश्यक काम गर्न कार्यविभाजन समेत हुने छ ।
सरोकारवालाको बैठकले व्यवसायी र उपभोक्ताको व्यवसायिक आचारसंहिता सहितको ब्रोसर तथा प्रचार सामग्री प्रयोगमा ल्याउने निर्णय गरेको छ । अनुगमन र कारवाहीभन्दा सचेतनालाई प्राथमिकतामा राखेर उपभोक्ताको हितमा काम गर्नुपर्ने उनले बताए ।
सबै स्थानीय तहको सहभागितामा उपभोक्ता सचेतना अनुगमन कार्यक्रम सञ्चालन गर्ने, विषयगत निकायले विषयविज्ञ समावेश गरी कार्ययोजनासहित अनुगमनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, औषधी व्यवसायी संघ, तरकारी, फलफूल लगायतका छाता संगठनबाट हाल व्यवसाय र कारोबार गरिरहेका फर्मको विवरण संकलन गरी अनुगमन कार्ययोजनामा समावेश गरेर मसिनो गरी अनुगमन, सचेतना र कारवाही प्रक्रिया अघि बढाईने उनले बताए ।
