नेकपा एकिकृत समाजवादीको बागलुङ जिल्ला कमिटी नै एमालेमा समायोजन भएको छ । एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल वहादुर थापा र केन्द्रिय सदस्य श्रीप्रसाद शर्मासहितको टीमलाई आज बागलुङमा आयोजित एक कार्यक्रमका विच पार्टीमा स्वागत गर्नु भएको हो । सो अवसरमा मन्तब्य राख्दै इन्चार्ज गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पार्दै अगाडि बढाउन र सामाजिक रुपान्तरणको आन्दोलनलाई थप उचाईमा पुराउन एकतावद्ध पार्टीबाट मात्रै सम्भव भएको वताउनु भएका हो ।
‘हिजो विशेष कारणले वाहिर रहनु भएका कमरेडहरु आज आफ्नै घरमा आउनु भएको छ’, उहाँभन्नुभयो, ‘अव संगै मुक्तीको आन्दोलन अगाडि बढाउने छौ । अन्यत्र रहेका कमरेडहरुलाई पनि एमालेमा समायोजन हुन आग्रह गर्दछु ।’
सो अवसरमा मन्तब्य राख्दै नेकपा एसका केन्द्रिय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लाल वहादुर थापाले समाजवादीले फुटको औचित्य प्रमाणित गर्न नसकेको र अलग अलग रुपमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने भएकोले सिंगो जिल्ला कमिटीलाई एमालेमा समायोजन गरिएको वताउनु भएकाे हो । पार्टीका जिल्ला अध्यक्ष हिरावहादुर केसीले बागलुङबाट नयाँ सन्देश दिन यो समायोजनको कार्यक्रम आयोजना गरिएको वताउनुभयो । कार्यक्रममा जिल्ला इन्चार्ज मना कुमारी केसी लगायत केन्द्र, प्रदेश र जिल्लाका नेताहरुको सहभागी रहेको थियो ।
