बागलुङ , ७ असाेज । बागलुङ नगरपालिका–३रातमाटाका बैकुण्ठ सापकोटा उमेरले ५० वर्ष पुगेता पनि कृषि पेशामा रमाउदैँ आएका छन् ।
सापकोटा बिहान सबेरै उठेर साँझ अवेरसम्म कृषि कर्मलाई निरन्तरता दिनछन् ।
उनी कस्थेर लोकल कुखुरालाई दाना, पानी र घाँस हाल्ने त कस्थेर टनेल भित्रका काँक्रा र तरकारीको स्याहार गर्ने त कतिबेला आफुले लगाएको अकबरे बिरुवा र कागतिकोलाई रेखदेख नै । यसरी कृषि क्षेत्रमा निरन्तर लाग्नुमा आफुमा भएको कृषि प्रतिको ईच्छा शक्ति भएको बताउँछन् ।
उनले करिब ५ रोपनी जग्गामा काँक्रा, तरकारी, कागतिसँगै अकबरे खुर्सानी लगाएका छन् भने लोकल कुखुराले त उनलाई झनै परिचित बनाएको छ । २०७३ सालदेखि कृषि कर्ममा लागेका सापकोटा कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । फर्ममा २५० वटा लोकल कुुखुरा रहेका छन् । कुखुरा बिक्रिको लागि कुनै समस्या नभएको बताउँछन् ।
‘सुरुमा त कुखुुरा बिक्रि गर्न गाह्रो थियो, अण्डापनि जाँदैनथ्यो तर अहिलेभने त्यो समस्या छैन ।’ उनी भन्छन्–‘बागलुङ बजार, म्याग्दी र पर्वतसम्म लोकल कुखुरा बिक्रि हुन्छ ।’एउटा भालेको मुल्य २ हजार ५ सय रुपैयाँभन्दा माथी पर्ने उनको भनाई छ ।
काठमाण्डौबाट कुखुराको चल्ला ल्याएर सुरु गरेका उनले आफ्नै ह्याचरी समेत राखेका छन् । अहिले तिनै ह्याचरीबाट उत्पादित चल्ला हुर्काएर बिक्रि गर्दै आएका छन् ।
उनी कृषि क्षेत्रमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्थामा कार्यरत थिए ।
‘लामो समय गैरसरकारी संस्थामा काम गरियो त्यसपछि अहिले कृषिमा लागेको छु ।’ उनी भन्छन्–‘सबैभन्दा ठूलो कुरा म सन्तुष्ट छु ।’
उनले गैरसरकारी संस्थामा काम गर्नु अघिपनि बोइलर कुखुरा पालेका थिए । २०४७ सालमा कुखुरा पालेका उनले त्यो छोडेर जागिरमा लागेका बताए ।
उनले कुखुरा पालन लगायत कृषिबाट मासिक ३० हजार रुपैयाँ कमाउने गरेको बताए ।
कुखुरा पालन सहित कृषिमा रमाइरहेका उनले लोकल कुखुरा पाल्न चाहनेले कुखुराको चल्ला छनोटमा ध्यान दिनु पर्ने बताए ।
‘कुखुरा पालनबाट राम्रो आम्दानी गर्ने हो भने केही कुरामा ध्यान दिनु पर्छ ।’ उनी भन्छन्–पहिलो कुरा चल्ला छनोटमा ध्यान दिनुपर्छ, दाना भन्दा बढि घाँस खुवाउनु पर्छ अनि संरचना निर्माणमा धेरै खर्च गरिनु हुँदैन ।’ त्योसँगै फोहोर व्यवस्थापनमापनि ध्यान दिनु पर्ने उनको भनाई छ ।
दाना कम खुवाएर घाँस बढि खुवाउँदा खर्च कम हुने र आम्दानी बढ्ने उनको भनाई छ ।
उनको परिवारमा बाबा, आमा, श्रीमति र छोराछोरी छन् । छोराभने काठमाण्डौमा बसोबास गर्दै आएका छन् । कुखुरा पालन छोराको रुची रहेको उनको भनाई छ ।
राम्रो आम्दानीकोलागि अनुदानको आशा समेत गर्न नहुने उनको सुझाव छ ।
‘अनुदानको आशा राखेर गर्नेले राम्रो गर्दैन ।’ उनी भन्छन–‘कृषि गर्न त मनदेखि नै इच्छा हुनुपर्छ त्यसले मात्र गर्न सक्छ ।’ कृषिमै काम गर्न इच्छा राख्नेहरुमा धैर्यतापनि चाहिने उनको भनाई छ ।