बागलुङ, २१ चैत ।नेपाल पत्रकार महासङ्घ, बागलुङले स्थापना गरेको ‘पत्रकार लेखनवृत्ति कोष’मा बागलुङस्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु. १५ हजार सहयोग गरेको छ । सहकारीको १६औँ स्थापना दिवसको अवसर पारेर संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले उक्त रकम महासङ्घका अध्यक्ष राम थापा ‘अविरल’लाई हस्तान्तरण गर्नुभयो ।
सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत महासङ्घको कोषमा सहयोग गरिएको उहाँले बताउनुभयो । पत्रकार महासङ्घसँग विगतदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै अध्यक्ष शर्माले आगामी दिनमा पनि जिल्लाको पत्रकारिताको उत्थानका लागि सहकारीले हातेमालो गर्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष थापाले शुभेच्छुक सङ्घसंस्था र जनस्तरको सहयोगमा उक्त कोष निर्माण गर्न लागिएको बताउनुभयो । रु. दस लाख बराबरको उक्त कोषबाट खोजमुलक समाचार लेख्ने जिल्लाका दुई पत्रकारलाई बर्सेनि रु. ५० हजारका दरले लेखनवृत्ति प्रदान गरिने उहाँको भनाइ छ ।
समाजका ज्वलन्त मुद्दामा गहन खोज तथा अनुसन्धान गरी समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति प्रदान गरिने महासङ्घले जनाएको छ । महासङ्घको वर्तमान नेतृत्वको पहिलो बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा हालसम्म रु. पाँच लाख बढी सङ्कलन भइसकेको महासङ्घका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले जानकारी दिनुभयो ।
“कोषमा स्वतःस्फूर्त रुपमा सहयोग जुट्ने क्रम जारी छ, पत्रकारहरु आफै पनि यो अभियानमा जोडिनुभएको छ”, उहाँले भन्नुभयो, “कोषमा लक्षित रकम जम्मा भइसकेपछि कार्यविधि बनाएर लेखनवृत्ति कार्यक्रमलाई कार्यान्वयनमा लैजान्छौँ ।”