बागलुङ, १ जेठ । बागलुङ जिल्लाका दश स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा रु. २५ करोड ७२ लाख रुपियाँ बढी बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले मंगलबार सार्वजनिक गरेको ६२औं बार्षिक प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा रु. २५ करोड ७२ लाख २ हजार रुपियाँ बेरुजु देखिएको हो ।
जिल्लाका स्थानीय तहले आर्थिक वर्ष २०७९्/८० को तुलनामा बेरुजु घटाएका छन् । आर्थिक वर्ष २०७९्/८०) मा महालेखाको प्रतिवेदन अनुसार बागलुङका स्थानीय तहमा रु. ३४ करोड ४२ लाख २५ हजार रुपियाँ बेरुजु देखिएको थियो ।
बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु जैमिनी नगरपालिकामा (३.५१ प्रतिशत) र सवैभन्दा कम बेरुजु गलकोट नगरपालिकामा (०।७१ प्रतिशत) देखिएको छ । जैमिनी नगरपालिकाको रु. १ अर्ब ७२ करोड ७७ लाख ६८ हजार रुपियाँको लेखापरीक्षण गरेकोमा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ बेरुजु देखिएको छ ।
यस्तै गलकोट नगरपालिकाको १ अर्ब ६७ करोड २० लाख ७५ हजार रुपियाँ लेखापरीक्षण गरेकोमा रु. १ करोड १८ लाख ७२ हजार रुपियाँ मात्र बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार बागलुङ नगरपालिकाको रु. २ अर्ब ७२ करोड २२ लाख ७३ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ४ करोड ४५ लाख ७( हजार रुपियाँ, ढोरपाटन नगरपालिकाको रु. १ अर्ब २२ करोड ८२ लाख ८५ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ र काठेखोला गाउँपालिकाको रु. १ अर्ब ३३ करोड ५ लाख ४३ हजार रुपियाँ लेखापरीक्षण गर्दा ३ करोड ९७ लाख ११ हजार रुपियाँ बेरुजु रहेको छ ।
यस्तै तमानखोला गाउँपालिकाको रु.६५ करोड २४ लाख ४६ हजार रुपियाँको लेखापरीक्षण गर्दा रु. १ करोड २० लाख ९० हजार रुपियाँ, ताराखोला गाउँपालिकाको रु. ७४ हरोड १७ लाख २४ हजार रुपियाँ लेखा परीक्षण गर्दा रु २ करोड २८ लाख ४५ हजार रुपियाँ, निसीखोला गाउँपालिकाको रु. १ अर्ब ८ करोड ५१ लाख १५ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. १ करोड ४८ लाख २६ हजार रुपियाँ, बडिगाड गाउँपालिकाको रु. १ अर्ब ६१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. १ करोड ७३ लाख ६३ हजार रुपियाँ र बरेङ गाउँपालिकाको रु. ८१ करोड १३ लाख ८४ हजार रुपियाँ लेखापरीक्षण गर्दा रु. ७७ लाख ७७ हजार रुपियाँ बेरुजु भएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।