काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिवार साँझ ललितपुरस्थित नख्खु कारागार फर्किएका छन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै कारागारबाट निस्किएका थिए। उनीसहित थुप्रै कैदीबन्दी कारागारबाट बाहिरिएपछि प्रशासनले आलोचना खेप्नु परेको थियो।
शनिवार कारागार फर्कँदै लामिछानेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफू जन्मदिनकै दिन स्वतःस्फूर्त रूपमा फर्किएको बताए। “पछिल्लो सरकारले राजनीतिक प्रतिशोधका कारण अन्याय गरेको थियो, तर अहिले न्यायको प्रतीक स्वयं प्रधानमन्त्री भएकी छन्, त्यसैले अब अन्याय नहुने विश्वासका साथ कारागार फर्किएको हुँ,” उनले भने।
लामिछाने फर्किए लगत्तै जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले उनलाई कारागारमा राख्ने तयारी भइरहेको र सुरक्षाका लागि सशस्त्र प्रहरीमा पत्राचार गरिएको जानकारी दिए। “आइसकेपछि फर्काउने कुरा हुँदैन, उहाँलाई आवश्यक सुरक्षा प्रदान गर्ने तयारी छ,” अधिकारीले भने।
कारागार प्रशासनले पनि लामिछानेलाई राख्नेबारे सुरुमा द्विविधा देखाए पनि अहिले थप सुरक्षा व्यवस्थासहित बस्ने व्यवस्था मिलाइँदै छ। कारागारभित्र लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल समेत रहेका छन्।
नख्खु कारागारमा कैदीबन्दीहरूले अघिल्लो हप्ता प्रदर्शन र आगजनी गरेपछि हजारौँ कैदी देशभर फरार भएको अनुमान छ। तर पछिल्ला दिनहरूमा क्रमशः कैदीहरू फर्कन थालेका छन्।
लामिछानेको कारागार फर्किएपछि राजनीतिक र कानुनी वृत्तमा नयाँ बहस सुरु भएको छ।