बागलुङ, १८ मंसिर । बागलुङमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक बागलुङ नगरपालिका (निलो) र पर्वतको पैयुँ गाउँपालिका भिड्ने भएका छन् ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बागलुङ नगरपालिकाले टाइब्रेकरमा उदयपुरको कटारी नगरपालिका ५का विरुद्ध ४ गोल गर्यो भने दोस्रो सेमिफाइनल खेलमा पैयुँ गाउँपालिकाले म्याग्दीको बेनी नगरपालिकालाई टाइब्रेकरमा ४ विरुद्धका २ गोल गरि उपाधि नजिक पुगेका हुन् ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागलुङले कटारीलाई निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेको थियो । बागलुङको जितमा गोलरक्षक युनिश श्रेष्ठ नायक बने । उनले टाइब्रेकरमा कटारीका गणेश भुजेलको प्रहार रोके ।
टाइब्रेकरमा बागलुङको तर्फबाट निशान थापा, राजिव श्रीस, अमृत्त थापा, विविध थापा र अप्सन गौतमले गोल गरे । कटारीको लागि डिकेश लामा, पवन तामाङ, हेमन्त भुजेल र कृष्ण आले मगरले गोल गरे ।
त्यस अगाडि बागलुङले २–० को अग्रता लिएपनि जोगाउन सकेको थिएन । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा भएको खेलमा बागलुङले ३५ औं मिनेटमा पेनाल्टी मार्फत खेलमा अग्रता लिएको थियो । ३५ औं मिनेटमा कटारीका कप्तान रितिक श्रेष्ठले डिबक्समा हेन्ड गरेपछि बागलुङले पेनाल्टी पाएको थियो । पेनाल्टीमा बागलुङका कप्तान निशान थापाले सहजै गोल गर्दै अग्रता दिलाए ।
खेलको ४८ औं मिनेटमा बागलुङका निश्चल महतले हेडिङ्ग गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाएका थिए ।
कटारीका अभिषेक खड्काले तीन मिनेटमा दुई गोल गर्दै कटारीलाई खेलमा फर्काए । खड्काले ५० औं मिनेट र ५३ औं मिनेटमा गोल गरे । निर्धारित ८० मिनेटमा दुवै टिमबाट थप गोल नभएपछि टाइब्रेकरमा धकेलिएको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा बेनी नगरपालिका म्याग्दीलाई पराजित गर्दै पैयुँ गाउँपालिका पर्वत उपाधि नजिक पुगेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पैयुँले टाइब्रेकरमा ४–२ को जित निकाल्यो ।
पैयुँको जितमा गोलरक्षक बिजन बस्याल नायक बने । उनले टाइब्रेकरमा बेनीका रविन खड्काको प्रहार रोके । बेनीका किरण थापाको प्रहार बाहिरिएको थियो ।
पैयुँको तर्फबाट कप्तान विश्वास श्रेष्ठ, बिशाल विक, सागर थापा र समिर नेपालीले गोल गरे । बेनीको लागि सनम विक र मनिष श्रेष्ठले गोल गरेका थिए ।
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा नकआउटका आधारमा संचालित प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल आज हुनेछ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ र उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपियाँ प्राप्त गर्ने छन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले १०–१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।













