बागलुङ, १८ माघ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागी खटिने निर्वाचन प्रहरीका लागि तालिम दिन सुरु गरिएको छ ।
बागलुङमा १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु गरिएको बागलुङका प्रहरी प्रमुख एसपी तिलक भारतीले जानकारी दिनुभयो ।
निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन पेश गरेका थिए। बागलुङका लागि १ हजार २९८ जना निर्वाचन प्रहरी आवेदन माग गरेकोमा १ हजार ८६ जनाले पेश गरेको र अन्य २१२ जनालाई जिल्ला प्रहरी म्याग्दीबाट मगाएर तालिम दिन सुरु गरिएको प्रहरी प्रमुख भारतीले बताउनुभयोे । बागलुङका पाँच वटा स्थानमा निर्वाचन प्रहरीको लागि तालिम सुरु गरिएको छ । यो तालिम १० दिनसम्म सञ्चालन हुने छ ।
भर्ना प्रक्रियाबाट छनोट भएका निर्वाचन प्रहरीमध्ये इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९ जना, बुर्तिवाङमा ३१०, गल्कोटमा १८१ र अन्य बाँकी ७४८ जनालाई जिल्ला प्रहरी कार्यालयबाट तालिम दिन थालिएको हो ।
जिल्लामा निर्वाचनको समयमा अपुग हुने सुरक्षा जनशक्तिको लागि आवश्यक व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













