बागलुङ, १३ पौष । जिल्लाको दुर्गम स्थान बोबोङमा अत्याधुनिक उपकरणको सहायताले छातीको एक्सरे गरेर क्षयरोग खोजपडताल शिविर सम्पन्न भएको छ ।
शिविरमा ३६५ जनाको एआई एक्सरे उपकरणको सहायताले छातीको एक्सरे गरेर क्षयरोग परिक्षण गरिएको थियो ।
शिविरको शेभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोजपडताल थालेको बताए ।
आज ढोरपाटन नगरपालिका–८ स्थित बिकट गाउँ सेराबाङमा आयोजित एआई एक्सरेद्वारा छातिरोग सम्बन्धि खोजपडताल कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले क्षयरोग समयमै पत्ता लगाउन सकेमा उक्त रोगबाट मुक्त हुन सकिने बताए।
मुख्यमन्त्री पाण्डेले एआई डिजिटल एक्सरे लिएर वडा तहमै स्वास्थ्यकर्मी पठाईरहेको बताउनुभयो । बिरामी नभई अस्पताल नपुग्ने बानीको अन्त्य गर्न सचेतना आवश्क रहेकाले समय–समयमा स्वास्थ्य परिक्षण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले रोग पालेर घरमै बस्ने परिपाटी अन्त्यका लागि गाउँ गाउँमा सचेतना थाल्नुपर्ने बताउनुभयो । घरमै हुने सुत्केरी अन्त गर्न गण्डकी प्रदेश सरकारले सचेतना अभियान चलाएको पाठकले जानकारी दिए ।
दुर दराजका बिरामीलाई सेवा दिन बुर्तिवाङमा ५० शैयाको अस्पताल स्थापना गरेको बताउनुभयो । गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रको आयोजना, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा खोजपडताल थालिएको छ । जसमध्ये १४ जनामा एक्सेरेबाट क्षयरोग पत्ता लागेको र ४४ जनाको खकार परिक्षणका लागि नमूना संकलन गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भुमिश्वर शर्माले जानकारी दिए।