बागलुङ, १३ कार्तिक । मानवसेवा आश्रम बागलुङ शाखाकोे भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु हुनुपूर्व बागलुङका जनप्रतिनिधीहरुले आर्थिक सहयोगको घोषणा गरेका छन ।
प्रचारप्रसार तथा अन्य तयारी हुँदै गर्दा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आश्रम भवनको पूर्णताका लागि नगरपालिकाको तर्फबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्् । उनले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
नगर प्रमुख श्रेष्ठले सबै भक्तजनलाई फराकिलो मन बनाएर महायज्ञमा सहभागी भई दान गर्नहुन अनुरोधसमेत गरेका छन् ।
नगर उप–प्रमुख राजु खड्काले भने भवन निर्माणका लागि रु. १ लाख १ सय ११ सहयोग गर्ने गरेका छन् । नगरपालिका–८ का वडाध्यक्ष छमबहादुर कार्कीले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् भने अन्य कार्यपालिका सदस्यहरूले आफ्नो १५ दिनको भत्ता सहयोगस्वरूप दिने घोषणा गरेका छन् । त्यस्तै, गलकोट नगरपालिका–१० निवासी समाजसेवी मानसिंह छन्त्यालले रु. १ लाख ५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका छन् । हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि रु. ५० हजार ५ सय ९८ सहयोग गरेका छन् । महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि आर्थिक सहयोगको घोषणा गरिरहेका हुन । बागलुङ नगरपालिका–३ लालीगुराँसचोकमा अवस्थित मानवसेवा आश्रम बागलुङ शाखामा हाल ३५ महिला र २९ पुरुष गरी ६४ जना आश्रित रहेका छन् ।
उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।
बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित यही कात्तिक २१ गतदेखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको छ । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्नेछन्।
आश्रमले महायज्ञबारे जानकारी दिन जिल्ला समन्वय समितिको कार्यालय बागलुङ, पर्वत, म्याग्दी जिल्लामा स्नेहमिलन कार्यक्रम सम्पन्न गरिसकेको छ । मूल समारोह समितिका महासचिव युक्तप्रसाद सुवेदीका अनुसार सचिवालयले महायज्ञ तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।“सचिवालयबाट प्रचारप्रसार र जनसम्पर्क अभियान सशक्त बनाइनेछ”, उनले भने ।
दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । मानवसेवा आश्रम बागलुङले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ ।
भवन निर्माणका लागि हालसम्म ५ करोड रुपैयाँ खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै ४ करोड रुपैयाँ आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ। महायज्ञमार्फत आवश्यक रकम संकलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ।
महायज्ञको तयारी र प्रचारप्रसार तीव्र पारिएको मानसेवा आश्रमले जनाएको छ । महायज्ञलाई सफल बनाउन बागलुङ नगरपालिका–२ मा सचिवालय स्थापना गरिएको छ। सचिवालयबाट प्रचारप्रसार, जनसम्पर्क, सदस्यता वितरण र सहयोग संकलनका काम अघि बढाइएको छ।
								
															










