बागलुङ , २ फागुन । बागलुङ बजारमा बिहिबार स्कुल भ्यान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । बागलुङ नगरपालिका–३ हाडेपाखामा न्यू एभरेष्ट एकेडेमीको ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटनामा घाइते भई गण्डकी अस्पताल पोखरामा उपचाररत सुजल छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका–३ बस्ने १३ बर्षीय छन्त्यालको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको बताइएको छ । छन्त्यालको शरीरको विभिन्न भागमा चोटलागि अवस्था गम्भीर भएपछि थप उपचारकोलागि पोखरा पुर्याइएको थियो ।
यस भन्दा अघि धौलागिरी अस्पतालमा उपचारको क्रममा बागलुङ नगरपालिका ३ का १५ बर्षीय अमन बोहोराको मृत्यु भएको थियो । बोहोराको शव अहिलेपनि अस्पतालमा राखिएको छ । उनका बाबा विदेशमा रहेको र आउँदै भएको कारण अस्पतालमा राखिएको बताइएको छ ।
बागलुङ नगरपालिका ३ का १४ बर्षीय संगम किसानको अवस्थापनि गम्भीर रहेको बताइएको छ । शरीरका विभिन्न भागमा चोट लागेका किसानको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।
त्यस्तै मणिपाल अस्पताल पोखरामा उपचाररत बागलुङ नगरपालिका ३का ८ बर्षीय निगित किसान, ८ बर्षीय सोलुमन किसान, ५ बर्षीय आयन बोहोराको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते भएका मध्ये १२ बर्षीय आयुष बोहोरा, ९ बर्षीय सुमित गैरेको अवस्था सामान्य रहेको बताइएको छ । १० बर्षीय अनमिया किसान, ९ बर्षीय उमंग किसानको अवस्था मध्यम रहेको बताइएको छ । १३ बर्षीय समीक्षा गैरेको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
हाल धौलागिरी अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।
बागलुङ नगरपालिका–१ की २५ बर्षीया सारीका बोहोरा र १२ बर्षीया अलिस्ना किसानको धौलागिरी अस्पतामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनाग्रस्त भ्यानमा २६ जना रहेको बताइएको छ ।
घाइते मध्ये ७ जना डिस्चार्ज
डिस्चार्ज हुनेहरुमा बागलुङ नगरपालिका ३ का ७ बर्षीय सुप्रिया किसान, ७ बर्षीया रोबिन्स किसान, ५ बर्षीया रोशनी किसान, ४ बर्षीय एन्जल बोहोरा, ५ बर्षीय सोमल थापा, ५ बर्षीय अनिश किसान र चालक कुश्मा नगरपालिका १ मालढुङ्गा बस्ने ३५ बर्षीय विर मगर रहेका छन् ।










