बागलुङ, २४ जेठ । ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा विभिन्न विषयका ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकिएको छ ।
धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङद्वारा आयोजनामा शुक्रबार र शनिबार सञ्चालित सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य र मानविकी, विज्ञान, कृषि, आदिवासी अध्ययनलगायत विषयमा गरिएका अध्ययन तथा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरिएको हा ।
विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा सम्पन्न सङ्गोष्ठीमा प्रमुख वक्ताका रुपमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा खड्क केसी र गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले ‘कि नोट स्पिच’ दिनुभएको थियो ।
सङ्गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालय मातहतका प्राध्यापक, अनुसन्धानकर्मी, कर्मचारी, शिक्षक, शोधार्थीलगायतको सहभागिता रहेको थियो ।
उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रवर्तनलाई अबलम्वन गर्न सम्बद्ध पक्षलाई प्रोत्साहित गर्ने उद्देश्यले सङ्गोष्ठीको आयोजना गरिएको क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले बताउनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाले क्याम्पसमा प्राज्ञिक वातावरण निर्माण गर्ने उद्देश्यले सङ्गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
कार्यपत्र प्रस्तुतिसँगै उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनको भूमिकाका विषयमा दुई दिनसम्म गहन रुपले छलफल भएको उहाँको भनाइ छ । सङ्गोष्ठीमा प्रस्तुत गरिएका अनुसन्धानपत्रले निदृष्ट गरेका ज्ञान र निष्कर्षलाई मुलुकको समग्र शिक्षा प्रणालीसँग संस्थागत गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।













