बागलुङ , १९ जेठ । बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्न जोड दिएका छन् ।
बागलुङ नगरपालिकाको नगर स्वास्थ्य शाखाले आयोजना गरेको सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी बैठक, अनुगमन प्रतिवेदन सार्वजनिक तथा सञ्चार अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै आर्थिक, सामाजिक र मानसिक समस्या निम्त्याउने भएकाले यसको प्रयोग न्यूनीकरणमा सबै पक्ष सक्रिय हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सुर्ती तथा मदिराजन्य पदार्थको दुर्व्यसन सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै युवा पुस्तालाई यसको कुलतबाट जोगाउन सबैको सहकार्य आवश्यक रहेको बताए। नागरिकको स्वास्थ्य सुरक्षित भए मात्रै विकासले वास्तविक अर्थ पाउने उनको भनाइ थियो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले आफूले मात्र सेवन नगरेर नपुग्ने भन्दै युवा पुस्तालाई कुलतबाट बचाउन प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने बताए। विशेषगरी विद्यालय तथा कलेज आसपास सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री बढ्दो देखिएकाले ती क्षेत्रको नियमित अनुगमन गरी आवश्यक नियमन गरिने उनले जानकारी दिए।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले अस्पताल, विद्यालय, कलेज तथा होटल क्षेत्रमा गरिएको अनुगमनबाट जथाभावी सुर्तीजन्य पदार्थ बिक्री गर्ने प्रवृत्तिमा केही कमी आएको देखिए पनि अझै पनि खुला रूपमा चुरोट बिक्री हुने, विद्युतीय चुरोट ९भेप० तथा हुक्का बिक्री हुने र सार्वजनिक स्थानमा धूम्रपान गर्ने प्रवृत्ति कायमै रहेको बताए। उनले ‘नो स्मोकिङ’ क्षेत्रको प्रभावकारी कार्यान्वयन, आवश्यक स्थानमा धूम्रपान क्षेत्र (स्मोकिङ जोन) व्यवस्थापन तथा व्यवहार परिवर्तनसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन्।
अनुगमनका क्रममा देखिएका अवस्था तथा अनुभवबारे जानकारी गराउँदै शर्माले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत गोविन्द गौतम, नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।










