बागलुङ ,२० असार । बागलुङ नगरपालिकाको चालु आर्थिक वर्षको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघको सहजीकरणमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिका वडा नं. ६ लहरेपिपलमा शुक्रबार सार्वजनिक सुुनुवाई गरिएको हो ।
उक्त अवसरमा नागरिक स्तरबाट उठेको सवालबारे नगरप्रमुख, बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, प्रमुख प्रहासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, शिक्षा शाखाका प्रमुख धनप्रसाद पोखरेल लगायतले जवाफ दिएका थिए ।
कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भौतिक विकाससँगै सामाजिक विकासलाई नगरले प्राथमिकता दिएको बताए । उनले भौतिक विकास देखिने गरी भएको तर सामाजिक विकास देख्न घरघरमा पुग्नुपर्ने, महसुस गर्नुपर्ने र आम नागरिकले जीवन व्यवहारमा देखाउने विषय भएको बताए । नगरपालिकाले भौतिक विकासभन्दा सामाजिक विकासमा दोब्बर लगानी गरेको र त्यसको प्रतिफल पनि देखिएको बताए ।
सडक, खानेपानी र सिंचाइका योजनाहरु पूँजिगत खर्च र भौतिक रुपमा देखिएपनि स्वास्थ्य चौकीको गुणस्तर सुधार, बालमैत्री नगरपछि दिगो व्यवस्थापनका लागि भएका कार्यक्रम, कृषि क्षेत्रमा किसानले पाएको सहयोग र उनीहरुको आयआर्जनमा भएको सुधार, शिक्षाको गुणस्तरीय विकासमा भएका कामलाई सामाजिक विकासको रुपमा लिन उनले आग्रह गरे ।
उनले भौतिकको तुलनामा सामाजिक विकासलाई अझै बढी बढाएर लैजानुपर्ने आवस्यकता औल्याए । ‘मानिसको जीवनमा सुधार आएका विषयलाई सामाजिक विकासको रुपमा हेरेर काम गरेका छौं’ श्रेष्ठले भने, ‘आम नागरिकले जीवन जीउने कला र सीप जानेको र आयआर्जनमा सुधार आएको हुुनुपर्छ ।’ उनले आम नागरिकलाई सडक बनेपछि त्यो आयआर्जनमा जोडिनुपर्ने, विद्यालयको भवन बनेपछि बालबालिकाको गुणस्तरीय शिक्षा र स्वास्थ्य चौकी भवन बनेपछि सेवामा जोडिनुपर्ने बताए ।
वडा नं. ६ का अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सिर्जना पन्तको संचालनमा भएको कार्यक्रममा महासंघका कोषाध्यक्ष खेमराज गौतमले नागरिक सन्तुष्टी प्रतिवेदन पेश गरेका थिए । उक्त अवसरमा सदस्य प्रकाश बरालले टिप्पणी गरेका थिए भने पत्रकार विनोद प्रतिक थापाले आचारसंहिता बाचन गरेका थिए ।
कार्यक्रममा स्थानीय देव केसी पूर्णबहादुर क्षेत्री जगन्नाथ सापकोटा बालकृष्ण आचार्यले प्रश्न राखेका थिए । उनीहरुले सडक नाली बनाउन आएको १ लाख ६० हजार खर्च गर्न नसकेर फ्रिज भएको, फोहोर व्यवस्थापन बजार केन्द्रीत भएको सडक बनाएपनि घुम्तीहरु साँघुरो भएर पञ्चकोट जाने पर्यटकले सास्ती खेपेको गुनासो गरे विद्यालयमा संस्थापकको विवाद भैरहेको बेला नगरपालिकाले बेवास्ता गरेको बताए ।
‘एक घर एक धारा’ अभियान पुरा नभएको, कालीगण्डकीको लिफ्ट पानी असफल भएकोले वैकल्पिक श्रोत खोज्न सुझाए । कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्काले जिज्ञाशाको जवाफ दिएका थिए ।












