बागलुङ, पुस १३ गते । नेपाल टेलिकमले बागलुङ बजार क्षेत्रमा नेपालमै पहिलो पटक ‘फाइवर टु दि होम’को काम सुरु गरेको छ । नेपाल टेलिकमले बागलुङ बजार क्षेत्रमा पहिलो पटक भ्वाइस तथा डाटाका लागि प्रयोग गर्दै आइरहेको तामाको तार (कपर) प्रविधिलाई पूर्णरुपमा हटाई फाइवर प्रविधिको प्रयोग गर्न सुरु गरेको हो ।
नेपाल टेलिकमले यस अगाडि काठमाडौं लगायतका केही ठाउँमा फाइवर प्रविधिबाट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेकोमा बागलुङमा पहिलो पटक पुरानो तार विस्थापित गरी फाइवरमार्फत इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवा लिन सकिने प्रविधिको काम सुरु गरेको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले देशभर तामाको तारबाट वितरण गरिएको लाइनमा टेलिफोन सेवा राम्रो भएपनि इन्टरनेट सेवाप्रति गुनासो आइरहेकाले एकैसाथ तामाको तारलाई विस्थापित गरी फाइवर प्रविधिको जडान गर्न लागिएको बागलुङ टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो ।
नेपाल टेलिकमले देशका विभिन्न भागहरुमा फाइवर तारको प्रयोग गरि इन्टरनेट सेवा र पुरानो तामाको तारमार्फत एडिएसएल इन्टरनेट र ल्याण्डलाइन टेलिफोन सेवा दिदै आएको थियो । अन्य ठाउँमा पुरानो प्रविधिमा जडान गरिएका टेलिफोन तथा एडिएसएल इन्टरनेट एकैसाथ फाइवरमा स्थानान्तरण गर्न समस्या भएकाले दुवै प्रविधिको प्रयोग भइरहेपनि बागलुङमा भने एकैसाथ पुरानो प्रविधीलाई नयाँ प्रविधिमा स्थानान्तरण गरिने छ ।
बागलुङमा फाइवर तार टाँग्ने काम सकिएपछि पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि जडान हुने कार्यालय प्रमुख शर्माले बताउनुभयो । ‘अहिले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाका लागि फाइवर तारको प्रयोग भइरहेको छ, अब हामी बागलुङ बजार क्षेत्र इन्टरनेटसँगै टेलिफोन सेवा समेत दिनेगरी फाइवर प्रविधिको ‘फाइवर टु दि होम’को सुरुवात गर्न थालेका छौं ।’ शर्माले भन्नुभयो ।
फाइवरमार्फत सेवा सुरु भएपछि इन्टरनेट प्रयोगकर्तालाई बढी सहज हुने नेपाल टेलिकमले जनाएको छ । हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा २ एमविपिएसदेखि ५ एमविपिएस गतीमा मात्र चल्ने भएपनि यो प्रविधिको प्रयोग हुँदा घटीमा ८ एमविपिएसदेखि ५५ एमविपिएस गतीमा चल्ने छ ।
फाइवर जडानपछि हाल पुरानो प्रविधिमा प्रयोग भइरहेका ८ वटा तार विस्थापित भई एउटा मात्र तारको प्रयोग हुनेछ । टेलिकमले बागलुङ बजारको जमिनमा अप्टिकल फाइवर विच्छाएर ६ हजार भन्दा बढी ग्राहकले लाइन तान्न मिल्नेगरी ६ वटा क्याविनेट समेत निर्माण गरिसकेको छ । बजार क्षेत्रमा हाल तीन हजार बढी ल्याण्डलाइन टेलिफोनका उपभोक्ताहरु रहेकाले उनीहरुको पुरानै नम्बरलाई अप्टिकल फाइवरमा जडान गर्नेगरी काम अगाडि बढाइएको र यही वर्षभित्रै सबै काम सम्पन्न हुने टेलिकमले जनाएको छ । बागलुङ नगरपालिकाले बजारको सुन्दरतालाई कुरुप बनाएको भन्दै अस्तव्यस्त तारहरु हटाउँने निर्णय गरेकाले आफूहरुलाई काम गर्न सहज भएको टेलिकमले जनाएको छ ।
‘अहिले हामीले नेपाल टेलिकमका आफ्नै पोल तथा विद्युतका पोलहरु प्रयोग गरेर टेलिफोन सेवा विस्तार गरेका थियौं, बजारमा तारहरुको संख्या बढी हुँदा लाइन विग्रदा समेत समस्या हुने गरेकोमा अहिले टेलिकमका आफ्नै पोल तथा विद्युतका नयाँ पोल प्रयोग गरेर फाइवर तार तान्ने काम भइरहेको छ ।’ शर्माले भन्नुभयो । हाल उच्च गतीको इन्टरनेट सेवा तथा टेलिफोन सेवा प्रदान गर्नेगरी काम भएपनि आगामी दिनमा सोही फाइवर तारमार्फत टिभी, गेमिङ लगायतका सेवाहरु थपिने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाले बजार क्षेत्रमा जथाभावी टाँगिएका तारहरु हटाउँने निर्णय गरेकाले टेलिकमको कामले सहजता आउँने नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । बागलुङ बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले नाङ्गा तारहरु हटाएर इन्सुलेसन तारको प्रयोगको काम र नेपाल टेलिकमले दर्जनौ तारहरु प्रयोग गर्नुपर्ने कपर तारको प्रयोग हटाएर सिङ्गल फाइवर तारको प्रयोग गर्न थालेकाले बजारमा छरिएर रहेका तारहरु व्यवस्थापनमा सहज हुने नगरप्रमुख पौडेलले बताउनुभयो । नगरपालिकाले यत्रतत्र छरिएका तारहरुको व्यवस्थापन तथा अव्यवस्थित पोलहरु हटाउँन गरेको पहल टेलिकमको यो कामले सहजता आउँने पौडेलको विश्वास छ ।
‘हामीले बजारका तारहरु व्यवस्थापन गर्ने विषयमा कार्यपालिकाको बैठकलेनै निर्णय गरेका थियौं, तर नेपाल विद्युत, टेलिकमका आफ्नै पोलहरुको प्रयोग गरेर तारहरु टाँगिएका र तिनको व्यवस्थापनमा गर्न लामो समय लाग्ने देखिएकाले नगरपालिकाकै आग्रहमा नेपाल टेलिकमले सेवा प्रवाहमै सयौं गुणा बढी सुविधा हुने प्रविधिमार्फत काम गरेको छ, यसले नगरको सुन्दरतासँगै सेवा सुविधा प्राप्तीमा समेत सहजता आउनेछ ।’ पौडेलले भन्नुभयो ।