ढोरपाटनमा शिकार पर्यटनः पहिलो सिजनमा दुइ मात्र शिकार

बागलुङ, मङ्सिर १९ । नेपालको एक मात्र बैधानिक शिकार केन्द्र ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याममा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत शिकारको लागि आएका बेल्जियम नागरिक वार्य फ्रेडिक डार्कले शिकार आरक्षको धुस्तुङ ब्लकमा दुई वटा वन्यजन्तुको शिकार गर्नुभएको हो ।

मङ्सिर पाँच गतेदेखि सुरु भएको शिकार १० गते सम्पन्न भएको प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । शिकारीले नाउर र झारल शिकार गरेबापत सरकारलाई तीन लाख ६१ हजार पाँच सय रपियाँ राजश्व तिरेको नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीका डाइरेक्टर अमृत थापाले जानकारी दिनुभयो । एक हप्ताको अवधीमा उहाँले दुई वन्यजन्तुको शिकार गर्नुभएको थियो ।

कोरोनाका त्रासले थलिएको शिकार पर्यटन लयमा फर्कन नसक्दा यस वर्षको पहिलो सिजनमा तोकिएको झारल र नाउरको शिकार हुन सकेन् । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज नौं गते विश्वव्यापी बोलपत्र प्रकाशन गरेको थियो । विभागले शिकारको लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरेपनि एउटा मात्र शिकार कम्पनीले प्रस्ताव पेश गरेको थियो ।

वि.स २०४२ सालमा स्थापना भएको आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक शिकारी आउने गरेका छन । आरक्षणमा बर्सेनी असोज–मङ्सिर र फागुन– बैशाख गरी दुई पटक शिकार खुल्छ । गतवर्षको दोस्रो यामको शिकार कोरोनाको कारण रोकिएको थियो । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार