टोकियो , २६ कात्तिक । जापानको ओकिनावामा पहिलो पटक आयोजना गर्न लागिएको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।
राजधानी टोकियो, फुकुओका, नागोया हुँदै पहिलो पटक ओकिनावा प्रान्तमा नेपाल फेस्टिवल आयोजना गर्न लागिएको हो । यस वर्षको अन्तिम फेस्टिवल समेत रहेको ओकिनावामा नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
ओकिनावावासी नेपालीहरूको साझा आयोजनामा हुन लागेको प्रथम ओकिनावा नेपाल फेस्टिवल २०२२ यही नोभेम्बर २० तारिख ओकिनावा प्रान्तको नाहा शहरमा आयोजना हुँदैछ ।
नेपाल एक देश धेरै चिनारी भन्ने नारालाई समेट्दै नेपाल तथा जापानको सांस्कृतिक पहिचानका झलकहरू, नेपाली खाना, नेपाली परम्परागत पहिरन तथा प्रदर्शनी सहित नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित फेस्टिवल आयोजना गर्न लागिएको आयोजक समितीले बताएको छ ।
फेस्टिवलमा जापानी समुदायको सहभागिता बढाउन तथा नेपाल जापान सम्बन्धलाई जनस्तरमा थप मजबुत बनाउनका लागि जापानी सांस्कृतिक प्रस्तुतीहरु सहित रक्तदान कार्यक्रम समेत राखिएको छ । करीब पाँच हजार नेपालीहरुको बसोबास रहेको ओकिनावामा सबै नेपालीको आयोजनामा फेस्टिवल गर्न लागिएको हो ।
फेस्टिबल ओकिनावाको उमिसोरा कोएन, नाहामा नोभेम्बर २० तारिख आइतवारको दिन १० बजेवाट साँझ ६ बजेसम्म आयोजना हुनेछ ।
फेस्टिवल तयारी स्वरूप कार्यक्रम आयोजना स्थल, स्थानिय संघ संस्था, व्यवसाय र व्यक्तिहरुसंग छलफल र सहकार्य गरि निष्कर्षमा पुगेको फेस्टिवल आयोजक समितीले जनाएको छ ।
जापानस्थित नेपाली राजदुतावास टोकियोबाट राजदुतको उपस्थिती सहित ओकिनावाका स्थानिय अधिकारीहरूको समेत फेस्टिवलमा सहभागिता रहने आयोजकले जनाएको छ ।
फेस्टिवल आयोजक समितीले कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन कार्यक्रम एक साता मात्र बाँकी रहँदा व्यापक प्रचार प्रसारको काम गरिरहेको जनाएको छ ।