बागलुङ, ४ जेठ । बागलुङमा जिल्ला स्तरीय तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताआइतबार (आज) देखि शुरु भएको छ ।
प्रतियोगिताको उद्धाटन गर्दै गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचनले खेलकुदको विकासले बालबालिकालाई अनुशासित बनाउने भन्दै हरेक खेलले शारीरिक रुपमा स्वस्थ्य, आत्मनिर्भर र सुरक्षामा पनि साथ दिने बताउनुभयो ।
खेल क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले पनि उचित बजेट व्यवस्थापन गर्नुपर्ने बताउँदै शेरचनले बाङेचौर खेलमैदानलाई रंगशाला बनाउन पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।।
सबै पालिकाले सानो सानो रकम सहयोग गरेपछि जिल्ला स्तरीय खेल संचालन सहज भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कंडेलले बताउनुभयो ।
प्रतियोगितामा छात्र छात्राको भलिबल, एथलेटिक्स, कबड्डी र मार्सलआर्ट लगायतका खेल हुने छन् । दशवटै पालिकामा खेल सम्पन्न भएपनि यो प्रतियोगितामा भने बागलुङ, गलकोट, जैमिनी नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिका गरी ५ टिम मात्रै सहभागि छन् । जिल्ला स्तरीय खेल जित्ने टिमले गण्डकी प्रदेश स्तरीय खेलमा सहभागि बन्न पाउने छन् ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न छात्रतर्फको एक सय मिटर दौडमा बागलुङ नगरपालिकाका हरि रोका प्रथम, बडिगाड गाउँपालिकाका प्रेम थापा द्वितिय, गलकोट नगरपालिकाका आयुष कार्की तृतिय, छात्रातर्फ बडिगाडका सुप्रिया घर्ति प्रथम, जैमिनी नगरपालिकाका पूजा शर्मा द्वितिय र गलकोट ऋतु गन्धर्व तृतिय भएका छन् ।
यस्तै, छात्र ४ सय मिटर दौडमा बागलुङ नगरका हिरा रोका, बडिगाडका अमित राना, गलकोटका अनुज परियार, छात्रातर्फ बागलुङका अन्जली पौडेल, बडिगाडकी प्रेमकला राना, जैमिनीकी रोजिना नेपाली क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् ।
छात्रतर्फको १५ सय मिटर दौडमा गलकोटका बिमल नेपाली, बागलुङका पर्वत बोगटी र बडिगाडका संजोग सापकोटा, छात्रातर्फ जैमिनीकी अस्मिता घर्ति, गलकोटकी कृपा बस्नेत र काठेखोलाकी अस्मिता थापा क्रमशः प्रथम, द्वितिय र तृतिय भएको जिल्ला खेलुकद विकास समितिका सचिव किशोर छन्तयालले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षता, उपाध्यक्ष योगेश भण्डारीको स्वागत र सचिव किशोर थापाको संचालनमा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, समितिका निवर्तमान अध्यक्ष कुमार खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।