बागलुङ , ३१ असार । वर्षातको समयमा बाढीपहिरोका धेरै घटना भैरहेका छन् । अधिकांस बाढीपहिरो सडक निर्माणले भैरहेका छन् ।विकास निर्माण गर्दा संरक्षणको पाटो ओझेलमा पर्दा बाढी पहिरोले धनजनको क्षति भएको सरोकारवालाको भनाइ छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजनामा बागलुङमा आयोजित समन्वय गोष्ठीमा सरोकारवालाले जलवायु परिवर्तन समेत बाढी पहिरोको कारण बन्दै गएको बताएका हुन् । उनीहरुले हरेक विकास निर्माण गर्दा १० प्रतिशत संरक्षण तर्फ बजेट विनियोजन गर्ने र बायो इन्जिनियरिङ लगायतको उपायाको खोजी गर्न सकेमा बिपतबाट पनि बचाउन सकिने धारणा राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य तथा पूर्व उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री दिपेन्द्रहादुर थापाले योजना निर्माणको बेला संरक्षणको पनि डिजाइन गर्न आग्रह गरे ।
जलवायु परिवर्तनको असर न्युनिकरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । गत वर्ष मुस्ताङ र मनाङमा गएको बाढीपहिरोबाट पनि जलवायु परिवर्तनको असरबारे जान्न सकिने बताए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले आगामी वर्ष नर्सरी बनाएर पहिरो नियन्त्रण गर्ने स्थानमा बिरुवा रोप्ने, पोखरी, चौपारी र मुल संरक्षण गर्ने तथा भलबाढी व्यवस्थापनको क्षेत्रमा काम गर्ने योजना बनाएको बताए । त्यसका लागि जलाधार कार्यालयले सहकार्य गर्नुपर्ने समेत धारणा राखेका थिए । केही दिनअघि जैमिनीमा बाढीपहिरो आएर सयौं हेक्टर खेत बगर बनाएको छ ।
कार्यक्रममा कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्रले जलाधार क्षेत्रको संरक्षण र कम खर्चमा गर्न सकिने बाढीपहिरो नियन्त्रणको उपायबारे प्रस्तुतीकरण गरेका थिए । उक्त अवसरमा मिश्रले बाँसजन्य बस्तुको रोपण गरेर पहिरोग्रस्त क्षेत्रलाई संरक्षण गर्ने, पानीका मुहानलाई प्राकृतिक रुपमा बग्न दिने, सडक बनाउँदा १० प्रतिशत बजेट राखेर संरक्षणको काम शुरुवातमै थाल्ने गरेमा बिपत र जोखिम रोकिने बताए । चालु वर्ष बागलुङमा ५० वटा योजनामार्फत जलाधार क्षेत्रको संरक्षण र बाढी पहिरो नियन्त्रण गर्ने योजना सम्पन्न गरको र आगामी वर्ष ३२ वटा योजना समावेश गरेको पनि जानकारी गराए ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता र समन्वय समितिकै सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।