काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हाले लगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन्। उनको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार राति ११ बजेदेखि लागू हुने गरी सदर गरेका छन्।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरद्वारा जारी विज्ञप्तिअनुसार, प्रतिनिधिसभा विघटनसँगै आगामी २०८२ साल फागुन २१ गते (बिहीबार) नयाँ निर्वाचनको मिति तोकिएको छ।
कार्कीले प्रधानमन्त्री नियुक्त भएपछि आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको निर्णय अघि सारेकी थिइन्। यो कदमलाई नेपालको राजनीतिक इतिहासमा दुर्लभ घटना मानिएको छ, किनभने जन निर्वाचित संसद् यसरी पहिलो निर्णयमै भङ्ग भएको हो।
यसअघि, जेन–जी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि संविधानको धारा ६१ अन्तर्गत राष्ट्रपतिले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। नियुक्तिपछि उनीसँग भएको सहमतिअनुसार तत्काल संसद् विघटन र ६ महिनाभित्र नयाँ निर्वाचनको घोषणा गर्ने सहमति बनेको थियो।
स्रोतका अनुसार, कार्कीको निर्णय जेनजीका प्रतिनिधिसँगको छलफल र सहमतिमा आधारित रहेको पनि बताइएको छ।