काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।
शनिवार वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले कठिन परिस्थिति र लामो सङ्घर्षपछि मुलुक शान्तिपूर्ण निकासमा पुगेको भन्दै संविधान, संसदीय प्रणाली र सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउन वर्तमान निर्वाचनलाई महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
उनले भने, “देशको असहज र भयपूर्ण अवस्थामा गरिएको कठिन प्रयासले संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम छ। छ महिनाभित्र निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएका छन्।”
राष्ट्रपति पौडेलले जनतालाई रिझाउँदै, आपसी सहमति र धैर्यका साथ निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सबै दल र पक्षलाई हार्दिक अपिल गरेका छन्।
यसअघि शुक्रवार राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्दै ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट दिएका थिए। प्रधानमन्त्री नियुक्त भएको केही बेरमै कार्कीले प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन्, जसलाई राष्ट्रपति पौडेलले सदर गर्दै फागुन २१ गते निर्वाचन मिति तोकेका हुन्।
तर, प्रतिनिधिसभा विघटनको निर्णयप्रति नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलले असहमति जनाउँदै निर्णय फिर्ता गर्न माग गरेका छन्। यसबिचमा राष्ट्रपति पौडेलले भने नयाँ परिस्थितिलाई स्वीकार गर्दै लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन निर्वाचन नै उत्तम विकल्प भएको स्पष्ट पारेका छन्।