बागलुङ, ३ जेठ । दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट ललिता घर्ती मगर छनौट भएकी छन् ।
लामो समय देखि दोहोरी साँझमा कहिले नाच्ने त कहिले गाउँदै आएकी ललिता दोस्रो गण्डकी लोक ताराका लागि बागलुङबाट छनौट भएकी हुन् ।
बागलुङको जैमिनी नगरपालिका १० राङ्खानी निवासी ललिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले यहि जेठ ९ गते आयोजना गरेको दोस्रो गण्डकी लोक ताराका लागि बागलुङ जिल्लाबाट घर्तीले प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति बागलुङले शनिवार आयोजना गरेको जिल्ला छनौटबाट घर्तीले प्रथम स्थान प्राप्त गर्दै गण्डकी लोक ताराका लागि छनौट भएको प्रतिष्ठानका सचिव मनिष कँडेलले जानकारी दिए ।
पहिलो लोक ताराका लागि बागलुङबाट घर्ती छनौट चरणमा उपबिजेता बनेपनि प्रतिस्पर्धामा जानु भएको थियो ।
पहिलो लोक तारामा बागलुङ बिजयी भएको थियो । छनौट प्रतियोगितामा प्रथम हुन सफल घर्तीलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
१२ जना सहभागी छनौट प्रतियोगिताबाट बडिगाड गाउँपालिका निवासी मिना घर्तीले द्धितीय स्थान प्राप्त गरि नगद ३ हजार सहित प्रमाण पत्र र जैमिनी २ दमेक निवासी मुना बिश्वकर्माले तृतीय स्थान प्राप्त गरि नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गरेको प्रतिष्ठानका अध्यक्ष सरस्वती खड्का परियारले जानकारी दिईन् ।
बागलुङ नगरपालिका निवासी प्रतिभा कुँवरले सान्त्वना पुरस्कार स्वरुप नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् ।












