एकराज गिरी
पोखरा, असोज ८ गते । पोखरा महानरपालिकामा फोहोरबाट बायो ग्याँस र प्राङगारिक मल उत्पादन उद्योग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका– ३२ स्थित मजुवामा १६ जना युवाले ३० करोड लगानीमा गण्डकी उर्जा प्रा.लि.ले बायो ग्याँस र प्राङगारिक मल उत्पादन सुरु गरेको हो ।
घरायासी फोहोेरलाई मोहोर बनाउँदै ग्याँस र मल उत्पादन गर्ने उद्देश्यले कम्पनी स्थापना गरिएको थियो । उद्योगबाट हाल दैनिक करिब ६ सय किलो बायो ग्याँस उत्पादन हुने गरेको प्रा.लि.का प्लान म्यानेजर निमेशकुमार झाले बताउनुभयो । जर्मनी प्रविधिमा आधारित जर्मन, इटली, अमेरीका, भारतबाट समेत विभिन्न मेसिनसहितका निर्माण सामग्रीबाट उक्त उद्योग सञ्चालनमा ल्याएको झाले जानकारी दिनुभयो ।
डेढ वर्षदेखि सञ्चालिन उद्योगले ग्याँसको साथमा प्राङ्गारिक मल समेत उत्पादन गर्दै आएको छ । उद्योग पूर्ण रुपमा सञ्चालन हुँदा दैनिक ५ टन प्राङ्गारिक मल उत्पादन हुने उहाँले बताउनुभयो । उद्योगबाट उत्पादन भएको मल उद्योगबाट किसानलाई होलसेल मुल्य प्रति केजी २५ रुपियाँमा बिक्री गदै आएको र खुद्रा मुल्य ३० रुपियाँमा बिक्री गर्ने गरेको म्यानेजर झाले बताउनुभयो ।
प्रा.लि.ले कुहिने फोहोर पोखरा क्षेत्रमा नपाएका कारण हाल नवलपुरसम्म पुगेर ल्याउने गरेको छ । पोखराबाट निस्कने फोहोरलाई वर्गीकरण नगर्दा बाहिरी जिल्ला फोहोर ल्याएर ग्याँस र मल उत्पादन गर्दै आएको छ । कम्पनीले कुहिने फोहोरलाई ढुवानी सहित प्रति केजी एक रुपियाँ दिन्छ । ‘यो प्यानमा हामी अहिले सुरुको फेजमा छौं, हाल दैनिक जसो ६ सय किलो बायो ग्याँस मात्र उत्पादन गर्ने सक्षम भएका छौं ।’ उहाँले भन्नुभयो ।
प्रतिदिन सहज ढङ्गबाट ४५ टन फोहोर प्राप्त भएमा दैनिक हामीले दुई सय सिलिण्डर ग्याँस उत्पादन गर्न सकिने र बजारको कुनै अभाव नभएको सञ्चालकको भनाइ छ । गाइको गोवर, कुखुराको सुली, प्रेसमड, कुहिने कुनै प्रकारको फलफूल तरकारी, झारपातको साथमा पानी समेत हालेर मेसिनबाट डाइजेष्टरमा पठाएर मिथानोजेन्स व्याक्टेरियामार्फत वायो ग्याँस उत्पादन हुने प्यान म्यानेजर झाले बताउनुभयो ।
साभार: गाेरखापत्र दैनिक












