Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

त्यागी नेता किसुनजी

  • गोकर्ण अर्याल 
  • ८ वर्ष अगाडि

नेपाली काँग्रेसका संस्थापक नेतामध्येका एक कृष्णप्रसाद भट्टराई (किसुनजी)को ९५औँ जन्मजयन्ती यसै हप्ता मनाइएको छ । किसुनजीको राजनीतिक जीवनलाई अनुशरण गर्ने सङ्घ, संस्थाहरूले विभिन्न ढङ्गबाट उहाँको आदर्श राजनीतिक जीवनको स्मरण गर्ने र उहाँप्रति श्रद्धासुमन अर्पण गर्ने काम भएको छ ।

यही अवसरमा उहाँले आठ वर्ष जेल जीवन बिताउनुभएको सुन्दरीजल बन्दीगृह परिसरको सुन्दरीजल बीपी सङ्ग्रहालयमा निर्माण सम्पन्न किसुनजीको पूर्ण कदको सालिक अनावरण गरिएको छ । सोही ठाउँमा तीन दर्जनभन्दा बढी साहित्यिक स्रष्टाले आ–आफ्नो सिर्जनामार्फत किसुनजीलाई सम्झे पनि ।

सामाजिक सञ्जाल मार्फत पनि सन्त नेता भट्टराईलाई धेरैले सम्झेका छन् । ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजित एक कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदानलाई दलका नेताले स्मरण गरे तर उहाँले आफ्नो राजनीतिक जीवन बिताउनु भएको राजनीतिक दल नेपाली काँग्रेसले यस सन्दर्भमा औपचारिक रूपमा केही गरेको देखिएन । हुन त वर्षदिनमा एकपटक सम्झेर मात्र उहाँप्रति श्रद्धा–सम्मान हुने होइन । प्रमुख कुरा त किसुनजीले अवलम्बन गर्नुभएको रजनीतिक पद्धति र चरित्रलाई आत्मसात् गर्न सकिएको छ कि छैन भन्ने हो । किसुनजीले अवलम्बन गर्नुभएको जीवन पद्धतिलाई आजको राजनीतिक सिद्धान्तले कसरी अनुशरण गरेको छ भनेर विश्लेषण गर्नुचाहिँ उहाँलाई संस्मरण गर्ने प्रमुख विषय हो भन्ने लाग्छ । उहाँले सादा जीवनबाट कसरी आफ्नो राजनीतिक अभिष्ट पूरा गराउनु भयो ? अर्थात् जीवनपर्यन्त निष्ठापूर्वक राजनीतिक लडाइ लड्ने आँट र साहस उहाँमा कसरी प्राप्त भयो ?, यस सन्दर्भमा लेखाजोखा हुनुपर्ने हो ।

 

सबैभन्दा ठूलो शक्तिका रूपमा निस्काम कर्मले उहाँलाई साथ दिएको थियो । राजनीतिक अधिकार र स्वतन्त्रताबाहेक उहाँमा कुनै किसिमको लोभ, मोह थिएन पनि । यही शक्तिले उहाँलाई विजयीसमेत गरायो । आज देश बनाउन भनेर नेतृत्वमा पुगेकाले पद र शक्तिको दुरुपयोग गरेको समाचार सार्वजनिक भइरहँदा किसुनजीको सादगी जीवनको सम्झना हुन्छ ।
सार्वजनिक पद र जिम्मेवारीमा रहेका देश र जनताको भन्दा आफू र आफ्नो परिवारको चिन्ता गर्ने राजनीतिक प्रणाली हावी हँुदै जान थालेको छ । आज सत्तामा पुगेकाहरू नियमपूर्वक सार्वजनिक गर्नुपर्ने सम्पत्ति सार्वजनिक गर्न आनाकानी गर्छन् । कतिपयले लुकाएर थोरै देखाउनेसमेत गरेका छन् । यस किसिमको अपारदर्शी सोचाइ र भावनाले समाजको सबै तह र वर्ग गिजोलिन थालेको छ । नेतृत्वमा बढ्दै गएको अपारदर्शी र बेथितिको सिको समाजको तल्लो तहसम्म देखापर्नु अस्वाभाविक होइन । यसलाई कम गर्न नेतृत्व नै इमानदार र पारदर्शी देखिनुपर्छ । यसका लागि किसुनजीको जीवनचरित्रको अनुशरण गर्ने प्रयास गर्नुपर्छ । किसुनजीको जीवन कति स्पष्ट र पारदर्शी थियो भन्ने कुरा २०४६ सालको परिवर्तनपछि अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुभएका बेला सार्वजनिक भएको उहाँको सम्पत्ति विवरणले प्रमाणित गरेको छ । त्यसबेला उहाँको निजी सम्पत्तिका रूपमा माटाको सुराही, छाता, एउटा ट्याङ्का र एउटा गीताको किताब थियो । 
एक वर्षपछि प्रधानमन्त्री निवासबाट बाहिरिँदा पनि उहाँको साथमा योभन्दा बढी केही थिएन । यिनै सामान लिएर कोठा खोज्दै प्रधनमन्त्री निवासबाट निस्कनुभएको थियो । उहाँले यस किसिमको राजनीतिक जीवनमा रहेर देशलाई भने ठूलो उपहार दिनुभयो । उहाँको नेतृत्वमा गठित सरकारको प्रमुख कार्यमा नयाँ संविधान निर्माण गरेर त्यसका आधारमा प्रतिनिधिसभाको निर्वाचन गराउने थियो । यो काम उहाँले निर्धारित समयमै पूरा गराउनुभयो । यसरी आफू डुबेर पनि अरूलाई पार लागाउने काम गर्नुभयो र एउटा सफल नौका चालकको भूमिकामा देखिनु भयो किसुनजी ।
यसरी सादकी जीवनबाट उच्च बौद्धिकता प्रकट गर्ने क्षमता लिनुभएका किसुनजीको जीवनबाट सिक्नु र बुझ्नुपर्ने धेरै कुरा छन् । आजको राजनीतिक नेतृत्वले किसुनजीको गुणलाई अलिकता पनि ग्रहण गर्न सकिरहेको छैन । राजनीतिमा नैतिकता र इमानदारिता भएन भने त्यो राजनीति जनता र देशका लागि हुन सक्दैन । यतिबेला देश र दुनियाँको हितभन्दा पनि आफू र आफ्नो समूहको भलाइका लागि लिप्त हुने सोचाइ र प्रवृत्तिले राजनीतिक नेतृत्व स्खलित र कमजोर हुँदै गएको देखिन्छ । यसै कारण पछिल्लो समय राजनीतिक तहमा वा त्यसको आडमा हुने गरेका भ्रष्टाचारले बढी चर्चा पाउने गरेको छ ।

यतिबेला समाजको जिम्मेवार तह र निकायमा रहेका व्यक्ति जिम्मेवार ढङ्गबाट आफ्नो दायित्व पूरा गरिरहेका छैनन् । यसको सिको नेता, कार्यकर्ता हँुदै जनताको तहसम्म पुगेको छ । समाजका हरेक तहमा इमानदारी र नैतिकता कमजोर हुँदै जानथालेको छ । पद र शक्तिका आडमा जे पनि पाउन सकिन्छ भन्ने मानसिकता विकास भइरहेको छ । यसै कारण आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरी शक्ति केन्द्रमा धाउने र त्यसैको आडमा मनपरी गर्ने प्रवृत्ति हावी भएको छ । यो सोचाइ र प्रवृत्तिको अन्त्य नभएसम्म जस्तोसुकै राजनीतिक पद्धति अवलम्बन गरे पनि देशको प्रगति हुनसक्दैन । यसअर्थ भाषणमा वा शब्दमा किसुनजीको बखान गरेर मात्र उहाँको राजनीतिक चरित्र प्रकट हुने होइन । यसका लागि उहाँसरह त्याग र समर्पण पनि चाहिन्छ ।
उहाँले अवलम्बन गर्नुभएको नीतिलाई अनुशरण गर्न सकेमा नै त्यसको सार्थकत रहनेछ । अहिले पनि अधिकांश दल र तिनका नेताले राजनीतिक मर्यादाको पालना गरिरहेका छैनन् । यस्तो संस्कार र चरित्रले राजनीतिमा शुद्धता कायम हुनसक्दैन ।

वास्तवमा आफूमा रहेको राजनीतिक दर्शन र बौद्धिकतालाई सरल, स्पष्ट र व्यावहारिक रूपमा उतार्न सक्ने विशेष क्षमता र खुबीले किसुनजी लोकप्रिय नेता हुनुभएको थियो । यही खुबी र विशेषताले धेरै राजनीतिक समस्याको समाधान पनि गरियो । नेपाली राजनीतिमा सन्त नेताको रूपमा परिचित भट्टराईको समग्र राजनीतिक चरित्र र जीवनदर्शन नबुझ्नेहरूका लागि उहाँ अव्यावहारिक र हल्का नेताका रूपमा गनिनु पनि भएको हुनसक्छ तर उहाँका विशेषता र गुण जान्ने बुझ्नेका लागि भने उहाँ अत्यन्त सरल र स्पष्ट नेता हुनुहुन्थ्यो ।

सादा जीवन, उच्च विचारका धनी किसुनजीले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गराउनुभयो । उहाँमा रहेको राजनीतिक ज्ञान, अनुभव र सीपलाई अनुशरण गर्ने, गराउने वातारण अहिलेको राजनीतिमा हुनसकेको छैन । किसुनजीले आफ्नो विचार र दृष्टिकोणमा कहिल्यै कसैसँग सम्झौता गर्नुभएन र राजनीतिक जीवनमा कुनै पद र प्रतिष्ठाको अपेक्षा राखेर काम पनि गर्नुभएन । बीपी कोइरालाले तोकिदिएको पार्टीको कार्यवाहक सभापति र २०४६ सालको परिवर्तनपछि गणेशमान सिंहको प्रस्तावमा नै उहाँ प्रधानमन्त्री बन्नुभयो ।

त्यसैगरी २०५६ सालको आमचुनावमा पार्टीले पहिले नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेर चुनावमा गएकाले उहाँ प्रधानमन्त्री हुनुभएको थियो । उहाँले जीवनको पछिल्लो चरणमा पार्टीमा बिग्रह हुनलाग्दा केही पाउने खोजीमा भन्दा पार्टीबाट आफूलाई अलग राख्नु नै श्रेयस्कर ठान्नुभयो । उहाँमा अहिलेजस्तो राजनीतिक लडाइँ र झगडा गरेर कुनै पद पाउने र बसिरहने अपेक्षा पनि कहिल्यै रहेन ।

यसरी किसुनजीले आफ्नो समग्र जीवनलाई कर्मयोगमा बिताउनुभयो । त्यसैकारण उहाँको राजनीतिक जीवन दर्शनको अध्ययनबिना गरिने टिप्पणीले उहाँप्रति न्याय गरेको ठहर्दैन । राजनीतिक तहमा यसको अभाव बढ्दै जान थालेका कारण पनि समस्या थपिदै जानथालेका छन् ।

समग्रमा बौद्धिक, राजनीतिक र आध्यात्मिक चेतका धनी किसुनजी कर्मयोगी नेता हुनुहुन्थ्यो । गीतामा भनेझै “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” उहाँले आफ्नो जीवनलाई कर्ममा समर्पित गर्नुभयो । यही कर्मप्रतिको विश्वासले उहाँमा कहिल्यै पनि फल पाउने आशा रहेन । सहज र स्वाभाविक रूपमा प्राप्त दायित्व र जिम्मेवारी बहनबाहेकमा लोभ पनि देखाउनु भएन । आफ्नो स्वार्थभन्दा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्नुभएका किसुनजीको जीवनबाट अनुशरण गर्नुपर्ने धेरै विषय छन् । तीमध्ये केहीको मात्र अनुशरण गर्नसकेमा पनि मुलुकसामु देखापरेका वर्तमानका चुनौतीको सामना गर्न सकिन्छ ।

अहिलेको रजनीतिक नेतृत्व वा वातावरण यस दिशामा केन्द्रित हुनसक्छ कि सक्दैन महìवपूर्ण प्रश्न यही हो । यथार्थमा आजको दुनियाँमा किसुनजीलाई सम्झने अनगिन्ती हुनसक्छन तर सम्झना रख्नेहरू भने बहुत कम होलान् । यसबाट पनि कति सत्यमा रहेर उहाँको खोजी हुँदैछ भन्ने स्पष्ट हुन्छ ।

साभार: गाेरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

रहरले भन्दा कहरले बागलुङको भ्रमण गरेका स्थलहरू

जिन्दगीको यात्राका अनुभवहरू

कहिलेकाहीँका अविस्मरणीय पलहरू

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

मनाङको हिउँदे कठिनाइ

ताजा समाचार

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

ट्रेन्डिङ

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com