बागलुङ जिल्लाको परिचय
मेरो फेसबुक स्ट्याटसमा एक जना परिचित साथीले कमेन्ट लेख्नु भएको थियो कि तपाईँले बागलुङ जिल्ला त घुमेकै हुनु भएको रहेनछ भन्दै आफू भने कति बागलुङको स्थानहरूमा जानु भएको थियो त्यो नखुलाई लेखे पछि मलाई बागलुङ जिल्लाको कामको र पर्यटनको सिलसिलामा घुमेको लेखन यात्रालाई सृजना गर्न दबाब दिएकोले पहिलो श्रृङखलामा कतै सिलसिलेवार कतै अगाडी पछाडि गरेर लेख्ने प्रयास गरेको छु । आशा एव विश्वास छ कि विद्धान पाठकहरूले अध्ययन गरेर सुझाव सल्लाह दिनु हुने छ । यदि मिल्छ भने म नपुगेको स्थानमा हजुरहरूसँगको सहयात्रामा भ्रमण गर्ने योजना बनाउला भन्दै फेरी अर्को नियात्रा, यात्रा संस्मरण लेख्ने विषयवस्तु प्राप्त गरौला भन्ने आशा लिएको छु ।
बागलुङ जिल्ला झन्डै नेपालको जस्तै आकृति भएको गण्डकी प्रदेशमा अवस्थित पहाडी जिल्ला हो । बागलुङ जिल्लाको सिमाना पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा, उत्तरमा म्याग्दी र दक्षिणमा गुल्मी र प्युठान जिल्लाहरूसँग जोडिएको छ । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष बागलुङ जिल्लामा अवस्थित रहेको छ । झोलुगें पुलको जिल्ला भनेर गण्डकी गोल्डेन पुल सहित सयौँ झोलुङ्गे पुल भएकोले झोलुङ्गे पुलको जिल्ला भनेर समेत चिनिन्छ । कुल क्षेत्रफल १७८४ वर्ग किलो मिटर (१,८२,४८६ हेक्टर) छ । कृषि योग्य जमिन ४६,४३६ हेक्टर, चरण क्षेत्र २८,२९४ हेक्टर, वन क्षेत्र ९८,०४६ हेक्टर, नदीनाला र अन्य ५०९६ हेक्टर रहेको छ । सबैभन्दा कम उचाइ ६०० मिटर (खर्बाङ) र बढी उचाइ ३१२० मिटर घुम्टे पहाड रहेको छ । तापक्रम अधिकतम ३८ डिग्री सेल्सियस र न्यूनतम ६ डिग्री सेल्सियस छ भने सरदर वर्षा २२०० मिलिमिटर हुन्छ । भौगोलिक अवस्थिति २४.१५՚ उत्तर देखि २४.३७՚ उत्तरी अक्षांश र ८३.००՚ पूर्व देखि ८३.३६՚ पूर्वी देशान्तरमा रहेको छ ।
कामको सिलसिलामा भ्रमण गरेका गाऊँ बस्ती
मलाई विद्यालयको पढाइको सिलसिलामा भ्रमण गर्नुपर्ने स्थलहरू मध्ये बलेवा अमलाचौरमा रहेको प्रसिद्ध भैरवथान मन्दिर भ्रमण गरेको थिए । भैरव स्थान नजिकै रहेकोले वलेबा कोट मन्दिर जसलाई गढी भनेर चिनिन्छ । सोलाई समेत अवलोकन गर्ने अवसर मिलेको थियो । नवदुर्गा नवमी दिनमा सरन नाच खेलेको खुब मजा लागेर हेर्ने गरिन्थ्यो । नेकपा मसालको शुभकामना कार्यक्रममा भाषण भन्दा नाच गान हेर्न खुब चाख मानेर हेर्ने गरिन्थ्यो । नजिकैको फर्कने बेलामा भुमे थान मन्दिर रहेको पाग्जाकोट डाँडा मुलाबारी पनि घुम्ने काम भएको थियो । मुलाबारी डाँडा भरी गोरु,गाई,भैँसी र भेडा बाख्राहरू रमाइ रमाइ चर्ने गरेका थिए । त्यस पछि मैले बिदाको समयमा बनमा भेडा चराउन जान्थे । बनमा जाने बेलामा सौरे डाँडामा रहेको जुके ढुगा चढ्ने काम सकी नसकी दुर्घटना हुने जोखिम मोलेर गर्दथे । रायडाँडाको नागढुगामा रहेको सुनाझाक्री परिसरमा खुब आनन्द मानेर चढ्ने काम गर्दथे । अत्यन्त मनमोहक सौरे डाँडाबाट बागलुङ बजार हेर्ने, दमेक, गाजाको दह, सर्कुवा गाउँ, कुश्मीशेरा गाउँ जाने बाटो हेरिन्थ्यो । तर सौरे डाँडाबाट देखिने नयाँ र नौला स्थानहरू कुन कुन हुन भन्ने पहिचान अबोध बालापनका कारणले गर्न सक्दिनथे ।
विद्यालय स्तरको अध्ययनको क्रममा नै बागलुङ कालिका मन्दिरको परिसरमा आमा,बाबासँग भाकल गरेको पूजा गर्नका लागि र दुख कष्ट नाश होस भन्दै भावी दिनमा सुख र आनन्द हात लागोस् भनी दर्शन भएको थियो ।बलेवाको एयरपोर्ट समेत हेरेको थिए । पछिल्लो समयमा काठमाडौँबाट बलेवा एयरपोर्ट उडान हुँदा एक पटक पत्रकार दाजु राजेश चन्द्र राजभण्डारी, पत्रकार भाइ दिल शिरिष सहित एक तर्फी उडान भरेको छु । जनता धन माध्यमिक विद्यालय, नारायणस्थानमा भकुण्डेका दृष्टिविहीन टेक बहादुर थापाले छात्रका रूपमा अध्ययन गर्ने भएकोले साथीलाई भेटघाट गर्ने काम भएको थियो । विद्यालय स्तरको अध्ययन गर्ने क्रममा खासै पैसा पनि नहुने भएकोले कुस्मा बजारमा कहिले कही नेपाली फिल्म हेर्न बाबा आमालाई नभनीकन साथीहरूको लहलहैमा समेत जाने गरिन्थ्यो ।
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ साबिकको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्ने समयमा सुरुका वर्षमा साथीहरूसँग घुलमिल हुन नै समय लाग्यो । पर्यटनका हिसाबले अध्ययन गर्ने भन्दा पनि नियमित कक्षाकोठामा उपस्थित भई पढ्ने काम बाहेक सुरुमा केही भएन । विद्यालयमा अध्ययन गर्ने समयमा समाज कल्याण मञ्च, दमेकले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सहभागी हुनका लागि सुन्तालाचौर गाउँमा भकुण्डे दुहार निवासी ठाकुर प्रसाद शर्मासँग गएको थिए । विद्यार्थी सङ्गठन अनेरास्ववियुको कार्यक्रममा भिमपोखरा गाउँ विकास समितिको कोटमा कार्यक्रम भएकोले त्यहाँ प्रतिनिधि भएर भाग लिन पुगे । पहिलो पटक सहभागी भएकोले सो समयमा हालका जिल्ला स्तरका नेताहरू अतिथिका रूपमा सहभागी भएका थिए । त्यसको केही समय पछि केही साथीहरू सहित मालिकाको विद्यालय परिसरमा भएको कार्यक्रममा सहभागी हुन गएको तर कुन कार्यक्रम,के कार्यक्रम भन्ने अवगत हुन सकेन । हिँडेर गएको र साँझपख बागलुङ बजार आउने काम भएको थियो । पहिलो पटक साथी उदित कुमार थापाको विवाह उत्सव भएकोले राङखानीको चिलाउने खर्क, नाम्दुक बजार, दमेकको कालापाटल हुदैको गाउँमा जन्ती गई नयाँ नौलो स्थानमा पाइला परेको थियो ।
अध्ययनको क्रमलाई अगाडी बढाउने क्रममा स्नातक तह प्रथम तहमा अध्ययन गर्ने समयमा नेपाल मगर संघ बागलुङको जिल्ला अधिवेशन रेश गाउँमा भएकोले भकुण्डे गाउँबाट संविधान सभाका सभासद् नर बहादुर थापा मगर , उदित कुमार थापा मगर, उमेश सर्वुजा मगर र म याम बहादुर थापा मगर लगायतका साथीहरू गएका थियौ । नेपाल मगर संघको जिल्ला सचिव नर बहादुर थापा मगर निर्वाचित हुनु भएको थियो ।
जन्मस्थान भकुण्डेमा भएका बराह तालको अवलोकन, गुर्जा हिमाल देखि धवलागिरि,निलगिरी,अन्नपूर्ण, माछापुच्छ्र्र्र्रे हिमाल लगायतको मनोरम हिमशृङखला आँखा अगाडि नै हेर्ने काम भई रहेको थियो । क्याम्पसको पढाई सँगै मैले थप संघ संगठनहरुमा आबद्ध हुने र व्यक्तित्व विकास गर्ने सोच अनुरूप सङ्घर्षमय जिन्दगी अगाडि बढ्यो । बागलुङ जिल्लाका थप स्थानहरू कामकाज र भ्रमणका सिलसिलामा घुम्ने योजना सोचे अनुरूप अगाडी बढेन । थप गाउँ घुम्नका लागि धेरै लामो समय कुर्नु पर्यो ।
मैले राष्ट्रिय समाचार समिति धौलागिरि अञ्चल संयोजक भई कामकाज गर्ने समयमा पहिलो पटक प्रजातान्त्रिक राष्ट्रिय युवा संघ बागलुङ नेपालको जिल्ला अधिवेशनको सन्दर्भमा खर्वाङ बजारमा जानु पर्ने भयो । सो कार्यक्रमको उद्घाटन समारोहमा क्रियाशील युवा पत्रकार सम्मान स्वरूपलाई मलाई सम्मानित गरिएको थियो । पत्रकारितामा सम्मान हुने काम मेरो लागि पहिलो थियो ।
लोक सेवा आयोगको परीक्षा मार्फत जिल्ला विकास समितिको कार्यालय बागलुङमा खरिदार पदमा कामकाज गर्ने अवसर प्राप्त भएपछि मलाई दमेक गाउँ विकास समितिको गाविस सचिवमा नियुक्ति गरेपश्चात् कुश्मीशेराको बजार,दमेकका विभिन्न स्थानहरूमा पाइला राख्ने काम भयो । दमेकको गाउँमा खाएको खिर अहिले पनि खुब सम्झछु । दमेक कालापाटलमा सांसद रहेका परि थापाको घर परिसरमा जाने मौका मिल्यो । परि थापाको प्रत्यक्ष भाषण एक पटक धौलागिरि मञ्चमा सुनेको थिए । तर टेलिभिजन र युटुवमा अन्तरवार्ता समय सन्दर्भ अनुसार सुन्दै आएको थिए । जिल्ला विकास समिति बागलुङका पूर्व सभापति गोपाल प्रसाद शर्मा सापकोटा भएको सुनेको र दमेक बासी भएको खबर बुझे तर उहाँसँग प्रत्यक्ष भेटघाट र साक्षात्कार हुने मौका मिलेन । कालापाटल दमेक निवासी देवेन्द्र पुन, जिल्ला विकास समिति,बागलुङमा कार्यरत सस बहादुर पुन, जुद्ध पुन, फट बहादुर छन्त्यालको घर समेत भएकोले समाज कल्याण मञ्च, दमेकको कार्यक्रम अनुसार पहिलो पटक गाजाको दह परिसरमा जाने मौका मिल्यो । गाजाको दहमा हल्का खाजा खाएर मेला लाग्ने समयमा फेरी अर्को पटक आउने योजना बुनेर फर्कने काम भयो । बास बस्ने घर आउनु भन्दा केही घर वर नै देवेन्द्र पुनको भाउजू साइनो लाग्ने महिलासँग सचिव ज्युका लागि भन्दै रमाइलो लोक भाकामा झामरे गीत गाउने कामले खुब मलाई रमाइलो र खुसी बनाएको थियो ।
मैले कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङमा काम गर्दा जिल्ला प्राविधिक कार्यालय बागलुङको थप कामकाज गर्ने अवसर पाएको थिए । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर कृष्ण प्रसाद बाँस्तोला, सव-इन्जिनियर फट बहादुर छन्त्याल र म ढोरपाटन क्षेत्रमा भएको योजना अनुगमन गर्न जाने कार्यक्रम तय भयो । मैले बुर्तिवाङ बजार हुँदै केही समय जिपमा यात्रा पश्चात् पैदल यात्रा गरेर ढोरपाटन पुगेका थियौ । देउराली डाँडा , ढोर बराही मन्दिर, उत्तर गंगा, एयरपोर्ट, छेन्तुङ गुम्बा घुमेर पहिलो पटक सिकार आरक्ष घुम्ने अवसर मिल्यो । तर घोरल, नाउर,रेड पाण्डाको सिकार गर्ने स्थल भने अझै दुई तिन दिनको यात्रा थप जोखिम मोलेर जानुपर्ने रहेछ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङमा काम गर्दा नै नापी कार्यालय वुर्तिवाङ, मालपोत कार्यालय, बुर्तिवाङमा कामकाज गर्दा दोस्रो पटक फागु पूर्णिमा मनाउन बुर्तिवाङ बजार पुगेको थिए । जिल्ला प्राविधिक कार्यालय बागलुङमा कायरत रहँदाको समयमा नै राङखानीको प्रसिद्ध नाम्दुक बजारमा आमा समूह भवन बनाउने कार्यको अनुगमन गर्न गएको थिए ।
घुम्ने काम आफैमा मेसो मिलाउनु पर्ने रहेछ । सिगानाका गृह मन्त्रालय अन्त्रगतका शाखा अधिकृत गणेश गौतमसँग गाउँ विकास समितिको ओसिएमसि गर्ने कार्यक्रम अनुसार साबिकको जैदी, छिस्ती गाउँका स्थानहरू घुम्ने काम भयो ।छिस्तीको पुरानो गाउँ भन्ने पर्यटकीय रमाइलो स्थलमा भने पर्यटन तथा उद्योग कार्यालय,बागलुङमा कामकाज गर्दा वडा अध्यक्ष विमल श्रीसको संयोजनमा भएको थियो । विनामारे गाउँमा चुनावको सन्दर्भमा विद्यालय सम्म भएको थियो ।सर्कुवा गाउँमा धौलागिरि आयुर्वेद औषधालय बागलुङको कार्यक्रम लिएर जाँदा भएको थियो । सर्कुवा गाउँबाट रायडाडाको बालौटे, सप्रेङ, भकुण्डेको भ्यु टावर, फलाटे डाँडा राम्रोसँग देखिन्थ्यो ।
अहिले प्रसिद्ध भएको पञ्चकोट धाम दुई तिन पटक पुग्ने काम भएको छ । पञ्चकोट जाने बाटोमा पर्ने लुङ गाउँ परिसरमा साबिकका वडा अध्यक्ष डिल बहादुर थापाको घरमा गई साक्षात्कार हुने काम जिल्ला विकास समिति बागलुङका कार्यालय प्रमुख राजेश बाँस्कोटा सँगको घुम्ने र अनुभव लिने सहकार्यमा भएको थियो ।
रेश गाउँमा फेरी अर्को पटक दाजुभाइ खलकमा खिम बहादुर थापाको जेठो छोरा विशाल थापाको विवाहको कार्यक्रममा जन्ती जाने कामको सिलसिलामा भए थियो । रेशका भिम बहादुर थापाको छोरी भुमा थापा मगरसँगको विवाह कार्यक्रम भएकोले सो दिनमा अधिक बर्सात भएकोले खासै नयाँ स्थानमा घुमफिर हुन पाएन । त्यस्तै गरी मेरो माइली फुपूको छोरी चन्दी थापाको छोराको व्रतवन्र्धको सन्दर्भ पारेर रेश गाऊँ गएको थिए । सो समय मैले रेश नुन्थला माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम बहादुर थापा र शिक्षक टिका बहादुर थापाको व्यवस्थापन र सहयोगमा विद्यार्थीहरूको लागि सकारात्मक सोच, उत्प्रेरणामूलक र अध्ययन पठन संस्कृतिको शैली विकासका बारेमा अनुशिक्षण गरेको थिए । लेखानीमा म समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमको सिलसिलामा लेखानी माध्यमिक विद्यालय परिसरमा वि.स. २०५५ सालतिर पुगेको थिए । त्यस पछि दाजुभाइ भित्रमा चन्द्र बहादुर थापाको जेठो छोरा विजय थापाको विवाहमा जन्ती जाने काम भएको थियो । जुन विवाहमा जन्ती गएको भए पनि पछि सो विवाह सफल हुने सकेन । लामो झोलुङ्गे पुल निर्माण भएपछि दाजुभाइ भित्रको खिम बहादुर थापाको कान्छो छोरा दुर्गेस थापाको विवाह समारोहमा जन्ती जाने मेसो लेखानी कादेशमा जाने काम भएको थियो । त्यसपछि पर्यटन तथा उद्योग कार्यालय बागलुङमा काम सिलसिलामा सहकर्मी साथी लक्ष्मण श्रीसको कुलपुजाको प्रसाद ग्रहणका लागि निमन्त्रणा भएपछि छोरा हिम्मत थापासँग जाने काम भयो । त्यस समयमा कोदोको बिस्कुट बनाउने सोचका लघु उद्यमी चानसिङ श्रीस सँग नजिकबाट अन्तर्क्रिया सहित परिचय हुने अवसर उहाँको घर परिवेशमा समेत गएर हुने मौका मिल्यो । त्यही समयमा काठेखोला गाउँपालिका लेखानीका पूर्व वडा अध्यक्ष चित्रा छन्त्याल श्रीससँग समेत भेटघाट भएको थियो ।
साबिक पाण्डवखानी गाउँ विकास समितिको सचिव पहलमान थापा मगरले काम गर्ने समयमा बुद्ध जयन्तीको सन्दर्भमा सिद्धथान, घाटु नाच, सोरठी नाच हेर्ने र घुम्टेको लेक चढ्ने योजना तय भएपछि म र पहलमान थापा मगर बागलुङ बजारबाट जिप चढेर यात्रा सुरु गर्यौ । पाण्डवखानी गाउँमा पुग्दा आन्तरिक राजश्व कार्यालय, पोखरामा कार्यरत साथी बुद्धमान श्रीससँगको चिनजानले थप यात्रालाई रमाइलो बनायो । त्यस भन्दा अगाडि चिनजान भएको स्थानीय नेपाली काँग्रेस राजनीतिक कर्मी तथा समाजसेवी दिदी राधिका पुन दिदीसँगको भेटघाट, तुल बहादुर वि.क.सँगको भेटघाटले यात्रालाई सहज बनाएको थियो । पाण्डवखानी गएको भोलिपल्ट बिहानै घुम्टे लेक चढ्ने योजना मुताबिक हामी गाविस सचिव पहलमान थापा मगर, स्थानीय साथी नायव सुब्बा बुद्धमान श्रीस, हिमाल पुन र म सहित स्थानीयहरू सहित झामरे गाउँदै उकालो चढेका थियौ । घुम्टे लेकमा बल्ल बल्ल पुगेपछि डाँडामा मन्दिर समेत रहेछ । पूजापाठ गरेपछि गलकोट भेगका थुप्रै साथीहरूलाई भेटेका थियौ । घुम्टेडाँडाबाट धेरै टाढाका दृश्यहरू देखिने रहेछ । हामी सिद्धथान हुँदै फर्कने समयमा ठुलो भिडको बिचमा कार्यक्रम भएको थियो । एक छिन हाम्रो यात्रा पाण्डवखानीको सती घाटु नाच्ने स्थलमा पुगेर घाटु नाच साँझमा अवेर भइसकेको थियो । बुद्धमान श्रीसको बाबा लगायत परिवारका सदस्यहरूले हाम्रो भव्य स्वागत खाना सहित गरेका थिए । तेस्रो दिनमा हामी बागलुङ बजारमा सकुशल आएका थियौ । चर्चित लोक गायिका देवी घर्तीको घर रहेको रमुवामा जाने अवसर जुरेन ।
बागलुङ जिल्लाका थप गाउँहरूको भ्रमण गरेको वर्णनात्मक शैलीको लेख अर्को आलेखमा लेख्ने प्रयास गर्ने छु । जसले अध्ययन गर्नुहुन्छ । उहाँहरूलाई आफूले भ्रमण गरेका स्थानहरूका बारेमा यात्रा संस्मरणमूलक तरिकाले लेख्नु हुने छ भन्ने आशा लिएको छु । यस पछि अर्को श्रृखला अध्ययन गर्ने समय प्रतीक्षा गर्नुहोला ।
लेखक मगर : बागलुङ न.पा. १० , भकुण्डे, धौलेचउर,बागलुङ