गणतन्त्र आयो—जुलुससहित, नारासहित,
भाषण र बेकारका बाचा बोकेर।
राजाले राजछाडे, जनताले शासन समाले,
तर शासन फेरिए पनि, शासनशैली किन उस्तै रह्यो?
विगतका आन्दोलन, रक्तस्नान, आशा र चित्कार–
सब भुलिएको छ, केवल फोटोमा मुस्कान बाँकी।
संविधान बनेको छ, तर संवेदनशीलता हराएको छ,
जनताको संविधान जनताकै पहुँच बाहिर।
गाउँ अझै अँध्यारो छ, सहर चकचकीला,
भोट माग्दा आउनेहरू पाँच वर्ष ओझेलमा,
शिक्षा, स्वास्थ्य, रोजगारी—शब्दहरू मात्रै बने,
कागजमा नीति छ, मैदानमा निष्ठा छैन।
कसले लियो त्यो गणतन्त्र?
के भुइँमान्छेले त्यो अनुभूति गर्न पाएको छ?
कसरी गणतन्त्र मानेर नाचूँ,
जब न्यायकै ढोका दलालीले थुनेका छन्?
वर्तमानमा हामी छौं—उपेक्षा र उदासीनताको गल्लीमा,
शब्दको शृंगारले छोपिँदैछ बेदनाको यथार्थ।
नारामा गणतन्त्र, व्यवहारमा परतन्त्र,
शक्तिको खेलमा सपना सहाराविहीन।
तर अझै आशा मरेको छैन,
बालबालिकाको आँखामा उज्यालो छ,
युवाहरूको मस्तिष्कमा परिवर्तनको चिंगारी।
अब दिशा चाहिन्छ– स्पष्ट, निर्भीक, निस्वार्थ।
गणतन्त्र केवल रूपान्तरण होइन, चेतनाको क्रान्ति हो।
साँचो गणतन्त्र त्यो हो, जहाँ जनताको आवाज शासन बन्छ
गणतन्त्र दिवस २०८२ मा संकल्प गरौँ
गणतन्त्रलाई दस्तावेज होइन, व्यवहार बनाउने।
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर