बागलुङ , १६ साउन । नेपाल निजामति कर्मचारी संगठन म्याग्दीले कैदी बन्दीका लागि खेलकुद सामग्री प्रदान गरेको छ ।
जिल्ला कारागार शाखा म्याग्दीमा रहेका कैदी बन्दीलाई खेलकुद सामग्री प्रदान गरेको हो ।
कर्मचारी शहिद मनोज जोशी, झपेन्द्र कार्की, सुरेन्द्र विकको स्मृति दिवसको अवसरमा कारागारका कैदीबन्दीका लागि भलिबल, ब्याडमिन्टन नेट, क्यारमबोर्ड तथा जुस प्रदान गरिएको संगठनका अध्यक्ष सोमबहादुर केसीले जानकारी दिनुभयो । शहिदको सम्झनामा सामाजिक कार्य होस भनेर कारागारलाइ चयन गरी सामग्री वितरण गरिएको उहाँको भनाइ थियो ।
संगठनले बिभिन्न पेशागत आन्दोलनका क्रममा राज्यबाट शहिद बनाइएका शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको सम्झनामा स्मृति दिवसमा रचनात्मक कार्यक्रम गरी मनाउने क्रममा खेलसामग्री हस्तान्तरण गेको संगठनका सहसचिव विपिन आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका कार्यालय सचिव एवम् नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष हरिकृष्ण सुवेदी, जिल्ला कारागार म्याग्दीका जेलर प्रतिज्ञा सुवेदी लगायतले बोल्नु भएको थियो । साभार: आदर्श सञ्चार












