काठमाडौं– संसदीय समितिमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक विगतको सम्झौता विपरित आउन लागेको भन्दै डा गोविन्द केसीले आपत्ती जनाएका छन्। डा केसीले सरकारले आफूसँग विगतमा गरेको सहमति अनुसारकै विधेयक आउनुपर्ने बताएका छन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आजको छलफलमा प्राविधिक शिक्षा तथा व्यवासायीक तालिम परिषद् (सिटिइभिटी) र सम्बन्धनका विषयमा सहमति जुट्न सकेको थिएन।
डा केसीसँग गरेको सम्झौता अनुसार नै यो विषय टुंग्याउनु पर्ने अडानमा अधिकांस सांसदले आवाज उठाए पनि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नामानेपछि विधेयकको प्रतिवेदन बन्न नसकेको हो। मन्त्री पोखरेलले अडान नछाडेपछि डा केसीलाई उक्त विषयमा जानकारी गराइएको थियो। डा केसीले उक्त जानकारीपछि आफू सम्झौताभन्दा बाहिर नजाने र आफ्नो लडाई जारी राख्ने बताए।
‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने गरी फोहोरी खेल खेल्ने काम हुँदैछ,’ उनले भने, ‘हामीसँग विगतमा जे सहमति भएको थियो, त्यही अनुसारको विधेयक आउनुपर्छ। त्यो भन्दा विपरित भए १७ गते अघि नै अनसन बस्छु।’
शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिले आइतबार नै डा केसीसँगको सहमति र केदारभक्त माथेमाको प्रतिवेदन अनुसारकै विधेयकको प्रतिवेदन बनाउने तयारी गरेको थियो। तर, आइतबारको छलफलमा पनि मन्त्री पोखरेलले सिटिइभिटीको विषयमा विधेयकमा राख्न नहुने अडान लिएपछि प्रतिवेदन तयार हुन सकेको छैन। सोमबारको छलफलमा पनि मन्त्रीले सोही अडान लिएपछि ११ गतेको संसद बैठकमा विधेयक पेश हुने सम्भावना न्यून हुँदै गएको छ।
सरकारले डा केसीलाई संसदको पहिलो बैठकमा नै सहमति अनुसारको विधेयक लैजाने र छिटो भन्दा छिटो विधेयक पारित गर्ने आश्वासन दिँदै आएको छ। शिक्षा तथा स्वास्थ्य समितिको सभापति जयपुरी घर्तीले पनि डा केसीसँग केही समय माग गरेपछि डा केसीले ३ गतेको अनसनको समय १७ गतेलाई सारेका थिए।