Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बर्दीधारीका सडक नियम

  • डा सुरेश आचार्य
  • ३ वर्ष अगाडि

टेकुबाट त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वरतिर फर्कदै गर्दा त्रिपुरेश्वरको ट्राफिक बत्तीमा गाडी रोकेर जाने पालो कुरिरहेको थिएँ । जाडो मौसममा झ्यालको सिसा लगाउनु स्वाभाविक थियो । अचानक झ्यालको सिसामा एक ट्राफिक युवतीले टकटक गरिन् । परिवारका सदस्यसँग निस्केको म आफ्नै सुरमा थिएँ । मैले उनीतिर ध्यान दिएँ र सिसा खोल्दै सोधेँ–के भयो ? उनले सिधै गाडीको कागजपत्र मागिन् । मैले फेरि सोधेँ– किन के भयो र ? उनले ‘गाडीको बम्पट’ मात्र भनिन् । हतारमा एउटा कागज उनको हातमा थमाइदिएँ । मलाइ लाग्यो–कुनै गाडीले पार्किङ गरेको ठाउँमा मेरो गाडीलाई ठक्कर दिएर बम्पट फुटाइदिएछ क्यारे । ट्राफिक प्रहरीलाई मैले कसैलाई ठक्कर दिएर आएँ भन्ने परे छ कि ?

कुरा अर्कै रहेछ । गाडीको पछाडि सुरक्षाका लागि सेफ्टी गार्ड राखेको थिएँ । त्यो राख्नु प्रहरीका लागि आपत्तिजनक भएछ । एक महिनादेखि उनीहरु ‘सेफ्टी मेजर’ अपनाउने गाडीलाई खोज्दै दुःख दिँदै बसेका रहेछन् । म यसबारे विल्कुल जानकार थिइन् । मैले के यसले गाडी नम्बर छोप्यो भनेर सोधेँ । त्यो पनि होइन रहेछ । ट्राफिक लाइटमा हरियो बत्ती बलिसकेको थियो । पछाडिका गाडीहरु अड्किरहेका थिए । उनले अर्को ट्राफिक युवतीलाई मेरो गाडीमा हतारहतार चढ्न भनिन् र ट्राफिक कार्यालय जानुपर्ने उर्दी सुनाइन् ।

अगाडि बढ्दै गर्दा मैले गाडीमा बसेकी युवतीलाई ट्राफिक कार्यालय कहाँ छ भनेर सोधेँ । पुरानो ब्लुबर्डको अगाडि रहेछ । त्यहाँ जाने ट्राफिकसम्मत बाटो थिएन । त्रिपुरेश्वरबाट सिधै अगाडि थापाथली, प्रसूतिगृह वा कोपुण्डोल जानुबाहेकको विकल्प ट्राफिकले दिएको छैन । मैले उनै युवतीलाई सोधेँ, उनीसँग पनि जवाफ थिएन । उनले चोक नपुग्दै मोड्न पाइने ठाउँ हो वा होइन भन्ने जवाफ दिन सकिनन् । थापाथली चोक नजिकबाट ‘यु टर्न’ गरेर उनको कार्यालयमा गएँ ।

एक जना प्रहरी सहायक निरीक्षक रहेछन् हाकिम । ती युवतीले म र मैले दिएको कागज (हतारमा बीमाको कागज परेको रहेछ) हस्तान्तरण गर्दै भनिन्, “उहाँले बम्पट झिक्नु भएको रहेनछ, कागजपत्र पनि यति मात्रै रहेछ ।”

यसलाई बम्पट भन्छन् कि सुरक्षा कवच ? मलाई अहिले पनि थाहा छैन । मसँग कागज सबै थियो तर उनलाई दिएको मात्रै त्यति थियो । प्रहरी सहायक निरीक्षकले कागजको खास खोजी गरेनन् । मैले उल्टै प्रश्न गरेँ– मेरो गल्ती के हो ? उनले फेरि त्यही सेफ्टी गार्ड निकाल्न भने । मैले कारण जान्न चाहेँ । उनले त्यो राख्दा सेन्सरले काम नगर्ने भएकाले झिक्न लगाइएको बताए । मैले मेरो गाडीमा सेन्सर नै छैन, यो नियम त सेन्सर हुनेका लागि होला नि भनेँ । तर उनले सबैलाई एउटै व्यवहार गरिएको दाबी गरे ।

म उनीसँग सहमत हुने कुरै थिएन । मैले खरिद गरेको वस्तु अर्थात् मेरो सम्पत्तिको सुरक्षा गर्नु कसरी गल्ती भयो ? यसले न बाटो रोक्छ, न नम्बर छेकेको छ । बरु हुर्रिएर आउने बाइकबाट सुरक्षा भइरहेको छ । मेरो गाडीमा सेफ्टी गार्ड निकालेपछि कसैले ठोक्यो भने त्यसको जवाफदेही प्रहरी हुन्छ ? उनले मलाई गाडीको स्वरुप परिवर्तन गर्न नपाइने कानुन पढाउन खोजे । मैले के परिवर्तन पाउनुभयो भनेर सोध्न छाडिनँ । उनी धेरै तर्क गर्न चाहिरहेकै थिएनन् । बरु आदेश गरे– कागजपत्र यहाँ छाडेर जानोस्, कुनै वर्कशपमा लगेर यो खोलेर कागजपत्र लिन आउनु होला । म पनि आफ्नो जिद्दी छाडिरहेको थिइन् । पछि उनलाई के लाग्यो कुन्नि ? उनले भने, “भैगो तपाईले कागजपत्र छाड्नु परेन तर यसलाई निकाल्नु होला ।”

यति साँघुरो ठाउँमा यो कार्यालय रहेछ, सडकमा गुड्नेमध्येका सबैभन्दा सानो मेरो गाडी मोड्ने ठाउँ पनि थिएन । गाडी मोड्दै गर्दा त्यो सेफ्टी गार्डले गाडी कोरिनबाट जोगाइरहेको त्यहाँ रहेका अरु ट्राफिक प्रहरीले देखिरहेका थिए । पछि उनीहरुकै सहयोगमा गाडी निकालेर म निस्कँे । शनिबारको त्यो दिन म कुनै वर्कशपमा गइन । घरमा आएर ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा त्यस्तो सूचना कतै छ कि भनेर खोजेँ । कतै फेला पारिनँ । ट्राफिक प्रहरीको आदेश मान्ने कि नमान्ने भन्ने दोधार भइरह्यो ।

आइतबार मलाई कामका लागि निस्कनै थियो, आदेशको पालना गरेको थिइन् । सबै गाडीहरु ख्याल गर्दै गएँ । कतिमा ती सुरक्षा कवच थिए तर धेरैमा नभएको आभास भयो । केही सरकारी गाडीमा समेत निकालिएका थिएनन् । कामबाट घर फर्केर मैले प्रहरी आदेश पालन गरेँ । अर्को आइतबार धोवीखोलाको पुलबाट भाटभटेनी मार्केट निस्कनेतिर गाडी मोड्दै थिएँ, यति लामो जापानी मोडलको सरकारी नम्बरको पिकअप भ्यान मेरो अगाडि प¥यो । बा २ झ बाहेक अरु केही नबुझिने गरी हालेको उसको सुरक्षा कवच यथावत थियो । मैले उसको नम्बर प्लेट पढ्न निकै कोसिस गरेँ । अहँ, सम्भव नै भएन । मभन्दा अगाडि गुडिरहेको त्यो गाडी सिंहदरबार दक्षिण ढोकाको मुखैमा रहेको राष्ट्रिय अनुसन्धान विभागको कार्यालयमा छि¥यो । सुरक्षा कवच निकालेर प्रहरी ज्यादतीबाट ढुक्क भएको म पनि सिंहदरबारभित्र छिरेँ ।

त्यो दिन ट्राफिक युवतीले ट्राफिक लाइटमा रोकिएको गाडीमा आएर जुन व्यवहार गरिन्, त्यो मेरा लागि अनौठो थियो । उनलाई मसँग कुरा गर्नु थियो भने पहिला साइड लगाउन भन्नुपथ्र्यो । बीच बाटोमा अरु साधनलाई समेत असर पर्ने गरी रोक्नु ट्राफिक प्रहरीको अधिकार हो ? अरुको साधनमा ट्राफिक प्रहरीलाई बस्ने अधिकार कहाँबाट मिल्यो ? उनले मेरो अनुमतिविना अर्की ट्राफिक युवतीलाई गाडीमा बस्न लगाइन् । मेरो गाडीमा परिवारका अरु सदस्य थिए । ती ट्राफिक युवतीमा कुनै सरुवा रोग भए वा मेरा परिवारका सदस्य बिरामी भएको भए उनको बसाईले प्रभाव पाथ्र्यो कि पार्दैनथ्यो ? गाडी मेरो व्यक्तिगत सम्पत्ति हो, मैले राज्यलाई तिर्नु बुझाउनुपर्ने सबै कर तिरेर चलाएको छु । त्यसमा सडकमा उभिने बर्दीधारीको स्वतःअधिकार हुने हो ? म उनको कार्यालय पुगेपछि ती प्रहरी सहायक निरीक्षकले अन्त्यमा जे भने, त्यो कुरा ती ट्राफिक युवतीले नै त्यहीँ भनेको भए हुन्नथ्यो ?

त्रिपुरेश्वर र थापाथलीका ट्राफिक प्रहरीको ‘स्मार्टनेश’का नाममा भएको व्यवहारले नागरिकलाई अनाहकमा दुःख दिएको छ । जसै कानुन पालना नगर्ने यातायातको साधन चलाउने धनी वा चालक दण्डित हुन्छ, उसैगरी अनाहकमा दुःख दिने बर्दीधारीले चाहिँ दण्डित हुनुपर्ने होइन ? नागरिकले तिरेको करबाट तलब खाएर म सेवा गर्न सडकमा उभिएको छु, कसैलाई सताउन होइन भन्ने चेत यिनीहरुमा फिर्नु पर्दैन ?

आज प्रहरी आदेश मानेर मैले मेरो सम्पत्तिको सुरक्षा कवच निकालीरहँदा अझै चित्त बुझ्दो कारण फेला पारेको छैन । तपाईलाई यसबारे केही थाहा थियो कि ? (आचार्य नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ)

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

रहरले भन्दा कहरले बागलुङको भ्रमण गरेका स्थलहरू

जिन्दगीको यात्राका अनुभवहरू

कहिलेकाहीँका अविस्मरणीय पलहरू

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

मनाङको हिउँदे कठिनाइ

ताजा समाचार

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने
पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने
चैत्राष्टमी मेलामा ४३ लाख खर्च
चैत्राष्टमी मेलामा ४३ लाख खर्च

ट्रेन्डिङ

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

महतोले सार्वजनिक गरे वाणिको उडान

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com