काठमाडौँ। नेपाली काँग्रेसले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रतिनिधि सभा विघटनलाई पूर्णतया असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले जारी गरेको प्रेस वक्तव्यमा भाद्र २३ र २४ गतेको प्रदर्शनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते भएका सुरक्षाकर्मी तथा नागरिकप्रति संवेदना प्रकट गरिएको छ।
काँग्रेसले आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवन, वित्तीय संस्था, मिडिया हाउससहित खर्बौँ मूल्य बराबरको संरचना क्षति हुनु अकल्पनीय र निन्दनीय भएको बताएको छ। यस सम्बन्धमा सरकारलाई तत्काल छानबिन र क्षतिको यथार्थ तथ्याङ्क सङ्कलन गर्न माग गरिएको छ।
सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवामाथि भएको आक्रमणलाई काँग्रेसले अमानवीय र वर्वतापूर्ण भन्दै भर्त्सना गरेको छ। उनीहरूको स्वास्थ्य लाभको कामना गर्दै पार्टीका अन्य नेतामाथि भएको आक्रमण पनि लोकतान्त्रिक संस्कृति विपरीत रहेको जनाएको छ।
यस्तै, प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै काँग्रेसले यस कदमले संविधानको मर्म, नागरिक अधिकार र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुठाराघात भएको आरोप लगाएको छ। वक्तव्यमा सर्वोच्च अदालतको अघिल्ला फैसलासँग पनि यो निर्णय विपरीत रहेको उल्लेख छ।
काँग्रेसले हालको परिस्थितिमा समस्त नेपाली जनता र पार्टी कार्यकर्ताको भावनालाई सम्मान गर्दै स्पष्ट धारणा तय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।